भरतपुर, फागुन १५
भरतपुर महानगरपालिकाको आयोजनामा हुने भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को आगामी फागुन १८ गते नारयणगढको नारयणी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । भरतपुर महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी आगामी फागुन १८ अर्थात मार्च १ तारिखमा भरतपुर भ्रमण वर्ष शुभारम्भ हुने जनाएको छ ।
उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्रीहरु, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने जनाईएको छ । सो उद्घाटन कार्यक्रममा करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरू तथा स्थानीय कलाकारहरुको विभिन्न साँस्कृतिक प्रस्तुती र सांस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ ।
‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना हुने भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।
भ्रमण वर्ष सफल पार्न भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी जिम्मेवारी तोकिएको छ ।
भरतपुर भ्रमण वर्षले भरतपुर महानगरका पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य लिईएको महानगरपालिका प्रमुख दाहालले बताइन् ।
भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भरतपुर घुम्न आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको जनाईएको छ ।
भरतपुर भ्रमण वर्षको शुभारम्भसँगै भरतपुर क्षेत्रका ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रहरुको पनि चर्चा सुरु भएको छ । भरतपुरमा रहेका देवघाटधाम, मेघौली, पटिहानी, नारयणी किनार, बिसहजारी ताल, ज्ञानेश्वर सामुदायिक वन, सानोगढी, धनगढा, राईनोताल लगायतका पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुलाई आकर्षित गर्ने विभिन्न कार्यक्रम सन्चालन गरिने भएको छ ।