दमौली, फागुन १७
रोटर्याक्ट क्लव अफ दमौलीले यस वर्ष पनि सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले हरेक बर्ष आयोजना गर्दै आएको खुल्ला दौड प्रतियोगिता यस वर्ष फागुन १९ गते शनिबार सचिन स्मृति दिवसको अवसरमा गरिने क्लवले जनाएको छ । उक्त प्रतियोगितामा भाग लिन ४८ जना धावकले नाम दर्ता गराइसकेको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए ।
प्रतियोगितामा ७० देखि ८० जना धावकहरुको सहभागिता रहने विश्वास गरिएको क्लवका सचिव उमेश पौडेलले जानकारी दिएका छन् । उक्त दिन २ वटा एम्बुलेन्स, ३ वटा बस, सुरक्षा निकाय र ट्राफिक प्रहरीको भ्यान धावकसँगसँगै हुने कार्यक्रमका संयोजक यम बतासले बताए ।
दमौलीदेखि छाब्दीसम्मको ९ किलोमिटरमा उक्त दौड प्रतियोगिता हुने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकहरुलाई क्रमशः १५ हजार, १२ हजार र ८ हजार नगदका साथै मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ बतासले भने । अनसन चौतारीबाट सफा सडक, पृथ्वी राजमार्ग, गल्बुवेसी, भादगाउँ हुँदै छाब्दी बाराहीमा पुगेर दौडको समापन गरिने छ ।
उक्त प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भूपू सैनिक क्लब, भारतीय सैनिकमा आबद्ध व्यक्तिहरुलाई सहभागी गराइने छैन । महर्षि वेदव्यासको जन्मस्थल व्यास गुफा र धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही बिचको सम्बन्ध सुदृढ बनाई पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको हो ।
दौड प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्ने छन भने प्रतियोगिताको समापन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्ने सो क्लबले जनाएको छ ।
क्लवका सदस्य सचिन श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा क्लवले हरेक वर्ष फागुन १९ गते दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।