देवघाट, फागुन १७
भारतको प्रख्यात आद्यधर्मपीठ श्री ५ नवतनपुरीधाम जामनगर गुजरातका पिठाधीश्वर श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभुषित जगदगुरु आचार्य श्रीकृष्णमणिजी महाराज देवघाट आएका छन् । उनी विहिबार दिउँसो हेलिकप्टर मार्फत देवघाट आएका हुन् ।
देवघाट गाउँपालिका–५ स्थित श्रीकृष्ण प्रणामी सेवा समिति श्री प्राणनाथ अनाथ सेवा आश्रममा विहिबारबाट आयोजित श्री १०८ तारतम सागर एवं श्रीमद्भागवत श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञान महायज्ञ तथा श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्ण कृपाधामको उद्घाटनको लागि जगदगुरु आचार्य श्रीकृष्णमणिजी महाराज देवघाट आएका हुन् ।
उनलाई देवघाटमा देवघाट क्षेत्रका विभिन्न आश्रमका पिठाधिश तथा भक्तजनहरुले स्वागत गरेका थिए । आफ्ना सहयोगी सहित आएका जगदगुरु श्रीकृष्णमणिजी महाराजले देवघाटमा रहेको महेश सन्यास आश्रमको अवलोकन समेत गरेका थिए ।
देवघाट स्थित श्रीकृष्ण प्रणामी सेवा समिति श्री प्राणनाथ अनाथ सेवा आश्रममा श्रीकृष्ण मन्दिर निर्माण तथा आश्रम सन्चालनकोलागि आर्थिक सहयोग जुटाउने उद्देश्यले विहिबारबाट सो महायज्ञ आयोजना गरिएको हो । सो महायज्ञ फागुन २३ गतेसम्म चल्नेछ । आश्रम परिसरमा पाँच करोडको लागतमा कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर निर्माण गरिएको छ । सो महायज्ञमा देवघाट क्षेत्रका विभिन्न आश्रमका पिठाधिशरु सहित ४० भन्दा बढि धार्मिक गुरुहरुको सहभागिता रहने महायज्ञ मुल समारोह समितिका संयोजक राजेन्द्रप्रसाद रिजालले बताए ।
महायज्ञ सन्चालनकोलागि रिजालको संयोजकत्वमा १००८ सदस्यिय मुल समारोह समिति र विभिन्न ३१ वटा उपसमितिहरु निर्माण गरिएको रिजालले बताए । उक्त महायज्ञले हिन्दु धर्मको संरक्षणकोलागि योगदान दिने तथा भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि सहयोग गर्ने अपेक्षा लिईएको रिजालले बताए । उक्त श्रीकृष्ण प्रणामी मन्दिरले धार्मिक पर्यटकलाई आकर्षित गर्ने अपेक्षा समेत लिईएको छ ।
तश्विरहरुः विहानी मिडिया