
शिवराज पौडेल
पुर्व अध्यक्ष, देवघाट क्षेत्र विकास समिति
हामीमा साझा संकल्प भयो भने ढलेका मानिसहरूलाई उठाउन, जगाउन र पूर्ववत् जीवनमा फर्काउन सकिन्छ तर ढलेका÷ढलाईएका भौतिक संरचनाहरूलाई त्यसको उद्देश्य अनुरुप गुणात्मक उपयोग गर्न सकिने सम्भावनाको करिव अन्त्य हुन्छ । जसलाई जरै देखि उखलेर फाल्नुको विकल्प छैन । नवनिर्माणको योजना र तयारीमा लाग्नु पर्छ ।



झण्डै डेढ दशकअघि देवघाटधाममा एउटा ‘देवघाट तीर्थस्नान स्थल एवं शवघाट संरक्षण विकास तथा जल उपभोक्ता समिति’ नामक संस्था नियोजित रुपमै अवतरण गर्यो । कसैले कल्पना नगरेको यो स्नानघाट शवघाटरुपी अजंगको विमान अवतरणका लागि देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले अनुमति दिएका थिए । यस्तो अनपेक्षित कामको सिफारिस गर्न पाएकोमा स्थानीय गाउँपालिका र देवघाट क्षेत्र विकास समिति हर्षविभोर थिए भने यसखालको अपूर्व अकल्पनीय विमानको अवतरण गर्ने सुअवसर प्राप्त भएकोमा यसका एक सदस्यीय क्याप्टेन÷चालक भने निक्कै पुलकित देखिन्थे । मानौं उनको यो नाम र कामसँग देवघाटधाममा सबै नतमस्तक छन्, हुनुपर्छ र देवघाटमा यसको नाम र काम भन्दा अरु कोही र केही छैन ।

काम जसरी प्रारम्भ भएको थियो परिणाम त्यही तरिकाले आउनु पर्ने थियो र आयो पनि । कालीगन्डकी र त्रिशूलीको विशालकाय भेल अनि बालुवा र ढुंगाको विराट् बगर क्षेत्र, जग खन्नका लागि डोजर एस्काभेटर छैन । यसो सावेलले ७÷८ फिट खस्र्याङ खुस्रुङ खन्यो अडिलो धरातल फेला परेको छैन, खन्दा निस्किएको त्यही वालुवा र गिट्टी घोल्यो अनि डाल्यो, त्यसको कुनै परिक्षण छैन, मसला घोल्ने मिक्स्चर छैन । कम्प्याक्ट गर्ने भाइब्रेटर छैन, अनुगमन गर्ने निकाय छैन भनेपछि आउने परिणाम यही हो ।

स्नानघाट जराजीर्ण छ अर्थात जग उधिनिएको छ । वगरमा संरचना तैरिएको अवस्थामा छ । प्राकृतिक स्वरुप विकृत भएको छ । वेणी संगमलाई यसले कुरुप बनाएको छ । यो ‘जिरो भ्यालु’ मा रुपान्तरण भइसकेको छ । देवघाटको नाम बेचेर देवघाटधाममा भइरहेको यो स्नानघाट एवं शवघाट सम्बन्धी काम धोका मात्रै हैन यो वेहालको अवस्थामा फेरि त्यसैमा गाँसगुँस गर्ने कामको थालनी हुनु भनेको ठगी समेत हो । त्यहाँ केही टालटुल गर्न, लिपपोत गर्न, छोपछाप गर्न वा मर्मत गर्ने नाममा यो घाटका चालकले केही लाख सरकारी पैसा लिएर फेरि काली र त्रिशूलीको भेलमा फाल हाल्ने तयारी गर्दैछन् भन्ने सुन्नमा आएको छ । तस्वीरले भन्छ त्यहाँ टालटुल, मर्मत सम्भार र छोपछापको कुनै गुन्जायस छैन । अव त्यहाँ कुनै सरकारी वा गैरसरकारी स्रोत साधन प्रवाह हुनु भनेको पूर्णरुपमा दुरुपयोग हुनु मात्रै हो । यसो गर्ने छुट सरकारका कुनै पनि तह वा निकायमा रहदैन ।

समसामयिक कुनै पनि घटना र विषयमा वस्तुपरक भएर छलफल गर्ने, समान धारणा बनाउने, छिनोफानो गर्ने काममा जति बिलम्व हुनजान्छ त्यस्ता संवेदनशील विषयहरू अनिर्णयको अवस्थामा रहदा थप क्षति वेहोर्नु पर्ने हुन्छ । म यसै लेखा मार्फत देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिलाई एकै साथ आग्रह गर्दछु कि हामी सबै परियोजना स्थलमा जाऔं, स्थलगत अवलोकन गरौं, स्नानघाटका नाममा बनेको यो विकारको थुप्रोलाई कालीका किनारमा समूल अन्त्येष्टी कार्यमा जुटौं । कथं÷कतै पालिका, वडा वा देवघाट क्षेत्र विकास समितिबाट सम्मति वा सिफारिस भएको रहेछ भने त्यसलाई सच्याउँन रोकौं । सच्याउँदा कमजोर भइन्न बरु सुदृढ भइन्छ । सिफारिस माग भई आएकोले सिफारिस गरिएको छ भन्ने मात्रै होइन, त्यस कामप्रतिको जिम्मेवारी र जवाफदेहितासँग समेत हामीहरू जोडिनु पर्ने हुन्छ ।

सबै खालका भौतिक क्षतिहरू मानिसका सार्थक प्रयत्नले पूर्ति गर्न सकिन्छ तर मानवीय क्षतिभने गम्भिर र दिर्घकालीन हुने भएकोले पूर्ति गर्न सकिदैन । मानवीय स्रोतको संरक्षण र विकास हाम्रो पहिलो जिम्मेवारी हो । यहाँका तस्वीरहरूले हाम्रो भौतिक, सामाजिक, नैतिक एवं चारित्रिक अधोगति÷पतनलाई स्पष्ट गरेका छन् । भौतिक, सामाजिक, नैतिक एवं चारित्रिक दृष्टिले हाम्रो गाउँ धार्मिक आस्था केन्द्रका रुपमा रहेको पवित्र तीर्थस्थल समेतलाई केन्द्रमा राखी यसको उन्नयन र समुचित व्यवस्थापन लागि उपयुक्त र आवश्यक विधि प्रक्रियाहरू अवलम्वन गर्न म यसै लेख मार्फत देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिलाई हार्दिक आग्रह गर्दछु । सुशासन, विकास र समृद्धिको साझा यात्रामा हामी सँगसँगै रहने छौं ।

यस विषयमा देवघाट क्षेत्र विकास समितिका सुचना अधिकारी पुष्पराज पौडेल भन्नु हुन्छ–‘विगतमा भएका संस्थागत कमजोरीहरुलाई आत्मसात् गर्दै देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाले भविष्यको सुन्दर देवघाट वेणी स्नानस्थल निर्माणका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ । मौजुदा संरचनामा थप निर्माण कार्य अगाडि बढाउनु भनेको केवल श्रोत र साधनको दोहन मात्रै हो र यसमा संलग्न अमुक व्यक्तिको पक्षपोषण बाहेक केही परिणाम प्राप्त हुने देखिदैन । यस विषयमा देवघाट क्षेत्र विकास समितिको गम्भीर ध्यानाकर्षण भएको छ र कसैले माग्दैमा सुझबुझ बिना सिफारिस दिने काम रोक्का गरिएको छ । अब स्नानस्थल निर्माणका लागि स्थानीय तह,देवघाट क्षेत्र विकास समिति र सरोकारवालाहरुको सतत प्रयास आवश्यक देखिन्छ ।’
स्थानीय समाजसेवी केशचवचन्द्र न्यौपाने भन्नुहुन्छ ‘देबघाट जस्तो धार्मिक दृष्टिकोण बाट पबित्र तिर्थस्थल प्राकृतिक हिसाब विश्वकै अति सुन्दर मध्येको एक महत्वपूर्ण भुभागलाई जसरी यस दुबैको गरिमा र अस्तित्वको समोचित ब्यबस्थापन गरेर प्राणी जिबनकै अति मनोहर स्थल बनाउन पर्ने ठाउँलाई बाँदरको हात मा नरिवल हुन खोजिरहेको आभास भएको तमाम देबघाटबासिले महसुस गरि रहनुभएको छ । चाहे योजना ल्याउने नाममा त्यसको सम्भावना बहुजनको हित वा व्यक्ती हित त्यसको असर कि दीर्घकालीन फाइदा भन्ने विषयमा भन्दा पनि कुन ब्यक्तिलाई पहुँच या राजनैतिक नजिकका आधारमा गरिने गरिएको व्यक्ती समर्पित योजनाले देबघाट कस्तो बन्दै छ या बनाउँदै छौ सबैले गम्भीर भएर सोच्ने बेला आएको छ । शिबराज पौडेलले व्यक्त गर्नु भएको विचारप्रति सबै देबघाटको हित चाहानेले साथ र ऐक्यवद्धता जनाउन जरुरी छ । देबघाट देबघाटबासी सबैको हो । न की क्षेत्र बिकास समिति र गाउँपालिकाका जनप्रतिनिधिको मात्र हो ।’
स्थानीय समाजसेवी गणेश थापा भन्नुहन्छ ‘सरकारी सम्पति पहुँचको भरमा दोहन गरि तत्कालिन र दिर्धकालिन रुपमा हुने फाइदा बेफाइदाको मतलबै नराखी हचुवाको भरमा गरिएको यस्तो निर्माणले कमिसन मात्रै खाने हुन् । अनुगमन गरि सम्बन्धित निकायमा सुचना प्रबाह गरेर यस किसिमको बिना प्राबिधिक स्टमेट र अनुगमन मुल्याङकनको कार्यहरु रोकेर दिगो बिकासको लागि सबैले हामि होइन देबघाट बनाऔं ।’












