काठमाडौं, चैत ११
आगामी बैशाख १५ गते हुने उपनिर्वाचनकोलागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सुहाङ नेम्वाङ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्रमा दमन बहादुर भण्डारीलाई उम्मेदबार बनाउने निर्णय गरेको छ ।
एमालेको आईतबार बसेको केन्द्रिय सचिवालयको बैठकले इलाममा केन्द्रिय कानुन विभागका सदस्य नेम्वाङ र बझाङमा जिल्ला कमिटिका अध्यक्ष भण्डारीलाई उम्मेदबार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।
इलाम २ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुभाष नेम्वाङको गत भदौ २५ गते निधन भएपछि रिक्त रहेको उक्त निर्वाचन क्षेत्रमा एमालेले उनै सुभाषका छोरा सुहाङलाई उम्मेदबार बनाउने निर्णय गरेको हो । यसैगरि बझाङ १ बाट निर्वाचित नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि उक्त क्षेत्रमा पनि निर्वाचन हुन लागेको हो ।
एमालेले उक्त दुबै क्षेत्रमा उम्मेदबारको टुंगो लगाईसकेपनि नेपाली, काँग्रेस, नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य पार्टीहरुले भने उम्मेदबारको टुंगो लगाएका छैनन् ।