देवघाट, चैत १७
पक्की पुलले नजोडिएको तत्कालिन देवघाट गाविसमा मोटर गुड्ने पक्की पुलको आवश्यकता पहिचान गरि देवघाटका क्रियाशिल राजनीतिक दल तथा केही सामुदायिक वनका प्रतिनिधि र सामाजिक अगुवा व्यक्तिहरुको प्रतिनिधि मन्डलले ठिमुरामा पुल निर्माणको लागि योजना समावेश गर्न माग गर्दै २०६५ जेठ ३१ गते पहिलो पटक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदिशचन्द्र पोख्रेललाई भेट गरे ।



२०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचन पछि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपनि योजना अयोगमा उपाध्यक्ष यस अघिका प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाकै पालका उपाध्यक्ष जगदिशचन्द्र पोख्रेल नै थिए । नेपाली काँग्रेसका बिण्णुप्रसाद सापकोटा, नेकपा एमालेका केशबचन्द्र न्यौपाने, नेकपा माओवादीका सन्तबहादुर बगाले, रानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पन्चबहादुर आले, सीता सामुदायिक वनका अध्यक्ष बिष्नुप्रसाद पौडेल, स्थानिय शिक्षक चन्द्रदेब तिवारी र परिबारिक सहजीकरणका लागि योजना आयोगका उपाध्यक्ष जगदिशचन्द्र पोख्रेलका भतिज प्रमोद पोखरेल सहितको सात सदस्यीय टोलीले योजना आयोगका उपाध्यक्ष पोख्रेललाई भेट गरि चितवनको भरतपुर र तनहुँको देवघाट जोड्ने ठिमुरामा पक्की पुलको लागि आबश्यक बजेट बिनियोजनका लागि अनुरोध गरेको थियो । उपाध्यक्ष पोख्रेलले पुलको लागि बजेट छुट्याउने आश्वासन दिएपनि बजेट भासनको क्रममा बजेट विनियोजन भएन ।

त्यसपछि योजना आयोगको उपाध्यक्षमा प्रचण्ड नेतृत्वको सरकारले रामप्रसाद शर्मालाई नियुक्ती ग¥यो । पछि सोही प्रतिनिधि मन्डलले पुल निर्माणकोलागि दोश्रो पटक योजना आयोगका उपाध्यक्षलाई भेट ग¥यो । उपाध्यक्ष शर्माले ‘देबघाट जान दुई–दुई वटा झोलुङ्गे पुल छ, कर्णालीका जनताले सिटामल खान नपाएर ज्यान गएको छ, २ वटा झोलुङ्गे पुल भएको ठाउँमा पक्की पुल सम्भब छैन’ भनेर डेलिगेशन गएको टोलीलाई रित्तो हात फर्काए ।
प्रधानसेनापती कान्डपछि प्रचन्डले प्रधानमन्त्रीबाट राजिनामा दिएर एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री बनेपछि एमालेका जिल्ला स्तरीय र गाविस स्तरीय नेतहरुले प्रधानमन्त्री नेपाललाई भेट गरि दासढुङ्गामा पक्की पुल बनाउनको लागि बजेट विनियोजन गर्न माग गरे । नेपाल नेतृत्वको सरकारले पनि बजेट छुट्याएन ।
पछि एमालेकै झलनाथ खनाल प्रधानमन्त्री बनेपछि पुनः एमाले नेताहरुले दासढुङ्गामा पक्की पुल बनाउन माग गरे । झलनाथ खनाल नेतृत्वको सरकारले दासढुङ्गामा पक्की पुलको योजना समावेश गरेर बजेट समेत छुट्यायो ।

दासढुङ्गामा पक्की पुल बनेपछि पुनः ठिमुरामा पुल बनाउन चौतर्फी माग र दवाव बढ्यो र ठिमुरामा पनि पुलको योजना आयो । स्थानीय बासिन्दाहरुको चर्काे माग र दवावपछि उक्त पुल बनाउन २०७१ कात्तिक २० गते ठिमुरामा पुल निर्माणकोलागि ठेक्का सम्झौता भएर पुल निर्माण भई आज उक्त पुलको उद्घाटन हुन गईरहेको छ ।
ठिमुरामा पुल निर्माणकोलागि पहिलो पटक डेलिगेशन जाने टोलीका सदस्य तथा नेकपा एमाले देवघाट गाउँपालिकाका अध्यक्ष केशवचन्द्र न्यौपानेले ठिमुराको पुलमा नेपाली काँग्रेसले राजनीति गरेको आरोप लगाए । सबैभन्दा पहिले सर्वदलिय संयन्त्रले ठिमुरामा पुलमा गर्दा नेपाली काँग्रेसकै योजना आयोगका उपाध्यक्षले नटेरेको स्मरण गर्दै आज काँग्रेसले उक्त पुल आफुहरुले मात्रै बनाएको दावी गर्नु राजनीतिककरण बाहेक अन्य केही नभएको न्यौपानेले बताए । ‘ठिमुरामा पुल बन्नुमा सबैको योगदान छ’, न्यौपानेले भने ‘एउटा पार्टीले मात्र जस लिन खोज्नु राजनीति मात्रै हो ।’

सबै राजनीतिक दलको दबावमा ठिमुरामा पुल बनेको भन्दै न्यौपानेले उक्त पुल निर्माणकोलागि स्थानीय बिष्णु सापकोटा, स्वर्गीय चक्र पौडेल, बिष्णु पौडेल लगायका स्थानिय साथिहरुको ठुलो योगदान रहेको बताए ।
ठिमुराको पुल निर्माणकोलागि २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणीले संयुक्त रूपमा लिएका थिए । सम्झौता अनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नुपर्नेमा पटक पटक म्याद थपेर पछिल्लो पटक काम सक्नुपर्ने समयसीमा २०७८ असार १२ सम्म तोकिएको थियो ।

पुल सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रुपैयाँ रहेकामा पछि लागत बढेर २१ करोड ६८ लाख पुगेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । उक्त पुलमा कंक्रिटका ४०÷४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान रहन्छ ।

निर्माणको क्रममा ठेकेदारको लापरवाहीको कारण उक्त पुल दुई पटक भत्किएको थियो । पुल भत्कँदा ३ जना मजदुरको मृत्यु भएको थियो । पहिलो पटक २०७७ चैत २४ गते विहान पुल भत्किएको थियो । सो क्रममा कुनै मानवीय क्षती भने भएन । दोश्रो पटक २०७८ बैशाख १२ गते पुल भत्कँदा ३ जना मजदुरको नदीमा डुबेर मत्यु भएको थियो । मजदुरले काम गरिरहँदा एक्कासी पुल भत्किएको थियो, सो क्रममा मजदुरहरु नदीमा खसेका थिए ।

सो पुलको आज राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।
ठिमुरामा पुल बनेपनि देवघाटवासीलाई अझै भएन राहात
आज देवघाट जोड्ने तिनवटा पक्की पुल र दुई वटा झोलुङ्गे पुल सन्चालनमा आएका छन् । पक्की पुलले देवघाटका ५० प्रतिशत नागरिकको समस्या समधान भएपनि तर देबघाटधाम तिर्थ गर्न आउने नागरिक हरुको समस्या ज्युँका त्यूँ रहेको एमाले देवघाटका अध्यक्ष न्यौपानेले बताए ।
देवघाटधामको धार्मिक तथा पर्यटकीय विकास गर्ने हो भने आपँटारीबाट आउने नाकामा पक्की पुलको बनाउनु पर्ने देवघाटका समाजसेवी तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । उक्त नाकामा रहेको झोलुङ्गे पुलमा सामान्य दिनमा दैनिक ३ हजार र धार्मिक मेला तथा महोत्सवमा दैनिक पचासौं हजार यात्रुले वारपार गर्ने हुँदा उक्त स्थानमा पक्की पुलको निकै आवश्यकता रहेको पौडेलले बताए ।

उक्त स्थानमा पुल निर्माणकोलागि १० वर्ष अघि माटो परिक्षण गरिएको भन्दै पौडेलले देवघाटका जनतालाई वास्तविक राहात र देवघाटको धार्मिक पर्यटनको प्रबद्र्धन गर्ने हो भने हाल झोलुङ्गे पुल रहेको स्थान नजिकै पक्की पुल बनाउनु पर्ने बताए ।












