देवघाट गाउँपालिकाका अध्यक्ष थापाद्वारा पार्वती माविको निरिक्षण

Devghat Online

शेयर गरौ

देवघाट, चैत १९

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले वडा नम्बर १ को कोटामा रहेको पार्वती माविको निरिक्षण गरेका छन् । सोमबार अध्यक्ष थापा र गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले विद्यालयको निरिक्षण गरि विद्यालय परिसरमा निर्माण गरिएका संरचनाहरु गुणस्तरीय हुनु पर्ने बताए ।

पार्वती माविले यही चैत २५ गतेदेखी २९ गतेसम्म विद्यालयको स्थापनाको ५० औं वर्षको स्वर्ण जयन्ती मनाउन लागिरहेको छ । स्वर्णजयन्तीको अवसरमा विद्यालय परिसरमा स्वर्ण जयन्ती स्तम्भ र गाउँपालिकाको १ लाख रुपैयाँको बजेटमा एसेम्ब्ली र्याम्प निर्माण गरिरहेको छ । ति संरचनाहरुको अध्यक्ष थापाले निरिक्षण गरेका हुन् ।

सो क्रममा अध्यक्ष थापाले स्वर्ण जयन्तीको कार्यक्रमलाई भव्य र व्यवस्थित रुपमा आयोजना गर्नुपर्ने बताए । पार्वती मावि देवघाट गाउँपालिकाकै नमुना विद्यालय रहेको हुँदा यसले समुदायमा पनि नमुनायोग्य काम गर्नुपर्ने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख लामिछानेले गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको अन्तिम चरणमा पुगेको हुँदा स्थानीय पाठ्यक्रमलाई समुदायको सम्पत्तीको रुपमा लागु गर्नुपर्ने बताए ।

सो अवसरमा पार्वती माविका प्रअ राजु गिरीले स्वर्ण जयन्ती कार्यक्रमलाई भव्य र व्यवस्थित रुपमा मनाईने बताए । ‘हाम्रो सान, हाम्रो गौरव, हाम्रो पार्वती’ भन्ने मुल नारा सहित मनाइने उक्त कार्यक्रमको तयारी भईरहेको विद्यालयका प्रअ राजु गिरीले बताए । स्वर्णजयन्ती कार्यक्रमको लोगो समेत सार्वजानिक भईसकेको प्रअ गिरीले बताए ।

स्वर्ण जयन्ती कार्यक्रममा विभिन्न खेलकुद तथा स्थानीय लोक संस्कृति झल्कने कार्यक्रम, विद्यार्थीको प्रतिभा प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, नृत्य तथा गायन सहित राष्ट्रिय कलाकार समेतको प्रस्तुती रहनेछ । साथै जातिगत साँस्कृतिक झाँकी, बाजागाजा सहित बृहत् कलश यात्रा समेत गरिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्ती कार्यक्रमलाई भव्य र बिशेष बनाउन आवश्यक सबै तयारी गरिने प्रअ गिरीले बताए । उक्त कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने दाता तथा शिक्षाविदलाई सम्मान समेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू