देवघाट, चैत १९
देवघाट गाउँपालिकाको आयोजनामा चालु आ.व. २०८०÷०८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार वडा नम्बर १ को कोटामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको बताए । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनसिलता लगायतका कामले देवघाट गाउँपालिकालाई उत्कृष्ट बनाउन लागि परेको बताए ।
अध्यक्ष थापाले गाउँपालिकाले पर्यटन र कृषिमा विशेष जोड दिएको बताए । देवघाट मुलुककै धार्मिक पर्यटनको क्षेत्र भएको हुँदा धार्मिक पर्यटनको माध्यमबाट गाउँपालिकालाई समुन्नत बनाउने बताए । उत्पादन विना गाउँपालिका समृद्ध नहुने हुँदा कृषिलाई पनि प्राथमिकता दिईएको बताए ।
वडा नम्बर १ कृषि र पर्यटनमा प्रचुर सम्भावना रहेको वडा भएको हुँदा यही वडामा सार्वजानिक सुनुवाई आयोजना गरि वडाबासीको राय, सुझाव र जिज्ञासा संकलन गरिएको अध्यक्ष थाापले बताए । वडा नम्बर १ मा सिंचाईको आवश्यकता भएको हुँदा त्यसकोलागि गाउँपालिकाको बजेटले मात्र धान्न नसक्ने भएकोले सिंचाई सुविधाकोलागि प्रदेश र संघ सरकारको पनि सहयोग लिईने बताए । साथै कोटा जोड्ने कालिगन्डकी नदीमा मोटरेवल पुल निर्माणको लागि डिपिआर अन्तिम चरणमा रहेको र यसै आर्थिक वर्षको अन्तिममा ठेक्का लाग्ने अध्यक्ष थापाले दावी गरे ।
गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले जनताको आवश्यता अनुसार योजनालाई प्राथमिकता दिने बताए । गाउँपालिका सवै जनताको भएको हुदाँ सवैभन्दा पहिलो सेवा गरिव तथा दिनदुखिको लागी दिनुपर्ने उपाध्यक्ष गुरुङले बताए । उनले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाईने र धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाइने बताए ।
प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले संघीय, प्रदेश र स्थानीय तहले निर्माण गरेको विभिन्न कानुनको परिधिमा रही कार्य सम्पादन भईरहेको बताए । सेवाग्राहीको समस्यामा आफु सदैव क्रियाशिल भएको अधिकारीले बताए । जनताको सेवाका लागी बसेको कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाई रहेको थियो । उनले सम्झौता भएका योजनालाई छिटो सक्नु पर्ने भन्दै योजनाको भुक्तानी प्रक्रियालाई सरल र सहज बनाईने बताए ।
सो कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर र वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङले सार्वजानिक सुनुवाईको माध्यमबाट जनताको गुनासो सुन्ने र सम्बेधन गरिने बताए ।
सो कार्यक्रममा गाउँपालिकाको विभिन्न शाखाबाट सम्पादित कामहरुको बारेमा कार्यक्रम अधिकृत कृष्णराज पन्त र प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी गराएका थिए ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही जनताले गाउँपालिकाले गरेको काम कारवाहीको वारेमा जिज्ञासा राखेका थिए । योजना सम्झौता झन्झटिलो भएको, भुक्तानी प्रक्रिया सहज नभएको, शिक्षामा घोषणा गरिएको पुरस्कार प्राप्त नभएको, वडामा बजेट विनियोजन हुँदा पुर्वाग्रही भएको, कृषकलाई मकैको बिउ समयमै वितरण नभएको, स्थानीयलाई आय आर्जनको कार्यक्रम नभएको, स्थानीय पाठ्यक्रम लागु नभएको, कोटाका विभिन्न टारमा खानेपानीको सुविधा नभएको, लैङिगक हिंसा नियन्त्रण र बालविवहा न्युनिकरणकोलागि सचेतनाको कार्यक्रम नभएको लगायतका गुनासो र जिज्ञासाहरु राखिएको थियो ।
सर्वसाधारणबाट उठेका जिज्ञासाको गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत आचार्य र विभिन्न शाखा प्रमुखहरुले प्रष्ट पारेका थिए । सो कार्यक्रमको सन्चालन विहानी मिडियाका सन्चालक आशिक रानाले गरेका थिए ।
चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा सम्पन्न भएका कार्यक्रम तथा गाउँपालिकाबाट सञ्चालित विकासका कार्यक्रमहरु, उपलब्ध सेवा सुविधा तथा नागरिकले उठाएका प्रश्नहरूमा प्रष्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुविधाहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरकार तथा विकास निर्माणका योजना र समस्याको समाधान गरी सेवाग्राहीको रुपमा आएका सर्वसाधारण प्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप लगायत पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनाई कार्यविधि बमोजिम आम सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका ५ वटै वडाका अध्यक्ष लगायत कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधि विभिन्न राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षासेवी पत्रकार लगायतको सहभागिता रहेको थियो ।