पोखरा, चैत २५
गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङें) सहित ३१ सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।



प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम अधिकारीलाई आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । अधिकारीले आईतबार दिउँसै सपथ ग्रहण गरि पदभार समेत ग्रहण गरिसकेका छन् ।
अधिकारी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । अधिकारी यसअघि २०७९ पुस २५ मा मुख्यमन्त्री बनेका थिए । उनले २०८० वैशाख १४ गतेसम्म मुख्यमन्त्री सम्हालेका थिए ।
अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । अधिकारीले अबको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
यता नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।