दमौली, चैत २७
नेपाली सेनाले मंगलबारबाट सुरु गरेको दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा मंगलबार साँझ तनहुँको भानु नगरपालिकामा आईपुगेको छ ।
उक्त पदयात्रा टोलीलाई भानु भानु र गोरखाको सिमानामा रहेको सतिघाटमा नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, गोरखाको पालुङटार नगरपालिकाका उपप्रमुख बन्दना पाण्डे, तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, गन्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विकास राज खनाल, तनहुँका प्रहरी प्रमुख एसपी अपिलराज बोहोरा, रुरु भैरवदल गणका गणपती पुर्णबहादुर थापा लगायत स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।
नेपाली सेनाको दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा मंगलवार गोरखा दरबारबाट सो यात्रा सुुरु भएको हो । उक्त यात्रामा अधिकृतको कमाण्डमा ४८ जना सहभागी छन् । उनीहरुलाई मंगलबार विहान एक कार्यक्रमका बीच तत्कालीन समयमा पृथ्वीनारायण शाहले खडा गरेको पाँच पल्टन (पुरानो गोखर, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) को झण्डा र टर्च लाइट दिएर बिदाइ गरिएको थियो ।
नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, गोरखा जिल्ला अदालतका न्यायधीश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहालले संयुक्त रुपमा झण्डा र टर्च हस्तान्तरण गरेका थिए । गोरखाबाट सुरु भएको उक्त यात्रा तनहुँ पाल्पा हुदैं रुपन्देहीको जितगढी पुग्ने रिपुमर्दन गणका गणपती अशोककुमार क्षेत्रीले बताए ।
गोरखाको टोलि पालुङटारको हुँदै भानु नपाको सतिघाट पुगेर तनहुँलाई झन्डा हस्तान्तरण गरेको छ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई झन्डा बुझाउछ । उक्त टोली वैशाख ५ गते जितगढी पुगेर बिजय उत्सवमा सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन (वैशाख ७ गते) लाई विजय उत्सवको रुपमा मनाउने गरिन्छ ।
ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने उदेश्यका साथ पदयात्रा सुरु गरिएको पृतनापति पौडेलले बताए । पर्यटन प्रवद्र्धनमा समेत यसले सहयोग पु¥याउने उनले जानकारी दिए । करिब दुई सय सात किलोमिटर दूरीको यात्रामा सहभागीलाई सम्बन्धित स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
तश्विरहरुः मनोजकुमार श्रेष्ठ