घिरिङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

अन्जान परियार, घिरिङ जेठ ३१

घिरिङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिका खोप समन्वय समिती घिरिङ गाउँपालिकाको आयोजनामा हालै आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्चालित खोप अभियान पुर्ण भएपछि उक्त घोषणा गरिएको हो । स्वास्थ्यकर्मिहरुको घरधुरी सर्वेक्षणले देखाएको तथ्यांक अनुसार गाउँपालिका भित्रका १६ देखि ५९ महिना सम्मका ६२१ जना बालबालिका मध्ये ६१८ जनाले पुर्ण खोप प्राप्त गरेको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए ।

वडा नम्बर १ मा २ सय ८ जना, वडा नम्बर २ मा ८३ जना, वडा नम्बर ३ मा १ सय ९ जना, वडा नम्बर ४ मा १ सय ३० जना र वडा नम्बर ५ मा ८८ जना बालबालिकाले खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले बताए ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख वाग्ले, गाउँपालिकाका उपाध्यक्ष राधा देबि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारी, नेकपा एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, बुद्धिजीवी, राजनितिक दलका प्रतिनिधि स्वयंसेविक, स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको सन्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा खोप समन्वय सचिव कृष्ण प्रसाद रिमालले गरेका थिए भने साभुङ्ग स्वास्थ्य चौकीका प्रमुख मन प्रसाद रानाभाटले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू