दुलेगौंडा, भदौ ३०
तनहुँको शुक्लागन्डकी नपाको दुलेगौंडामा सहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा रचित उपन्यास ‘एक चिहान’ मञ्चन गरिएको छ । विहिबार, शुक्रबार र शनिबार मन्चन गरिएको उक्त उपन्यासमा आधारित नाटक करिब २ हजार विद्यार्थीले अवलोकन गरेका थिए ।
शुक्ला साहित्य संगम तनहुँ र पोखरा थियटरको संयुक्त आयोजना र यस क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाको सहयोगमा विहिबार र शुक्रबार विद्यार्थीकोलागि र शनिबार अन्य सर्वसाधरणकोलागि नाटक मञ्चन गरिएको शुक्ला साहित्य संगम तनहुँका अध्यक्ष टुकादेवी पौडेल आचार्यले जानकारी दिइन् ।
शुक्ला साहित्य संगमको शनिवारिय १ सय २ औं नियमित श्रृखंला अन्तर्गत शनिबार उक्त नाटक मन्चन गरिएको थियो । दुलेगौंडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा प्रदशित सो नाटकमा शुक्लागण्डकी र आसपासका क्षेत्रका विद्यालयका विद्यार्थीको समेत उत्साहजनक सहभागिता रहेको शुक्ला साहित्य संगमकी उपाध्यक्ष सरस्वती सिग्देलले बताइन् । नाटक अवलोकनको लागि प्रति विद्यार्थी २ सय रुपैया र अन्यकोलागि ५ सय रुपैया शुल्क तोकिएको थियो ।
‘एक चिहान’ उपन्यास कक्षा १२ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ । सोही उपन्यासलाई नाट्य रूपान्तरण गरेर नाटक प्रदर्शन गरिएको हो । विद्यार्थीले उक्त नाटक हेरेर उपन्यासको समग्र विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले बुझ्न सक्ने अध्यक्ष आचार्यको दाबी छ ।