दमौली, भदौ ३०
आँबुखैरेनी गाउँपालिका–१ सत्रसय स्थित मित्रता माध्यमिक विद्यालयमा स्मार्ट हाजिरी प्रणाली शुरु भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक उक्त विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो ।
स्मार्ट हाजीरीको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरे । एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट उपस्थिति सिष्टमले विद्यालयमा विद्यार्थीको उपस्थिति बारे अभिभावकलाई सूचना प्रदान गर्छ ।
विद्यार्थी गेटबाट भित्र छिर्ने वित्तिकै अभिभावकहरुको मोवाइलमा आफ्ना बालबालिका विद्यालय पुगेको जानकारी पुग्छ र गेटबाट बाहिर निस्कदा विद्यालयबाट वाहिरिएको सूचना अभिभावकको मोवाइलमा पुग्दछ । विद्यालय छुट्टी पछि घर आउन लाग्ने समय अभिभावकलाई जानकारी हुन्छ साथै घरबाट हिडेपछि आफ्ना छोराछोरी विद्यालय पुगेको कुरा समेत जानकारी हुन्छ ।
मित्रता माविले अहिले यो व्यवस्था प्राइमरी तहका विद्यार्थीहरुमा लागु गरेको छ । आगामि वर्षदेखि कक्षा १२ सम्म यो प्रणाली जडान गरिने विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले बताए ।
यस प्रणालीमा विद्यार्थी कक्षा छोडेर जाने सम्भावना हुँदैन । विद्यार्थीको परिचय पत्रमा चिप्स जडान गरिएको छ । विद्यार्थी गेटमा आईपुगेवित्तिकै मेसिनले घण्टी बजाउँछ र तत्कालै उक्त सूचना अभिभावक सम्म पुग्ने गर्छ ।
‘अभिभावकलाई उहाँको बालबालिका विद्यालयमा सुरक्षित छ वा बाहिर छ भन्ने चिन्ता भैरहेको हुन्छ, यहि चिन्ता दुर गर्न हामीले यो सिष्टम लागु गरेका हौ’ प्रधानाध्यापक बोगटीले भने ‘विद्यालय व्यवस्थापन प्रणालीमा नवीनता ल्याउन स्मार्ट एटेन्डेन्स सिष्टम महत्वपूर्ण हुने विश्वास छ ।’ प्राथमिक तहको शिक्षण सुधारमा यसले राम्रो प्रभाव पार्ने प्रधानाध्यापकको दावी छ ।