व्यास नगरपालिका मतगणना विवादः दीपकराज जोशीको निवेदनलाई अग्राधिकार

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २

व्यास नगरपालिका प्रमुखको मतगणना विवादमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको निवेदनलाई सर्वोच्च अदालतले अग्राधिकार दिएर हेर्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले उच्च अदालत, पोखराका रजिस्ट्रारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनलाई अग्राधिकार दिएर पेस गर्न आदेश गरेको छ ।

उनका पक्षमा आदेश गर्नु नपर्ने कुनै आधार कारण भए १५ दिनभित्र लिखित जवाफ दिन पनि इजलासले भनेको छ । पोखरा उच्च अदालतका तत्कालीन रजिस्ट्रार अच्युत कुइँकेलले प्रशासनिक आदेश गरी इजलासबाट भएको फैसला कार्यान्वयनमा रोक लगाएको भन्दै जोशी सर्वोच्च पुगेका हुन् ।

सुरुमा सर्वोच्च प्रशासनले उनको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि इजलासबाट उक्त दरपीठको निर्णय बदर गरी जोशीको निवदन दर्ता गर्न आदेश भएको थियो ।

पोखरा उच्च अदालतले जोशीका पक्षमा निर्णय सुनाएको थियो। जोशीले मतगणनामा धाँधली गरी आफूलाई हराएको दाबी गरी उच्च अदालतमा रिट दिएका थिए । उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले गत जेठ १ गते पुनः मतगणना गर्न आदेश दिएको थियो । उक्त आदेशमा असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै तिथिमिति नै तोकिएको थियो ।

तर, आदेशअनुसार मतगणना नगर्न भन्दै रजिस्ट्रार कुइँकेलले रोकिदिएपछि जोशी सर्वोच्च पुगेका हुन् । कुँइकेलले भने उच्चको आदेशविरूद्ध अर्को पक्ष सर्वोच्च गएकाले तत्काल उक्त आदेश कार्यान्वयन गर्न नमिल्ने तर्क गरेका थिए ।

जोशीले भने पुनरावेदन नै नलाग्ने मुद्दामा सर्वोच्चले अर्को पक्षको निवेदन ग्रहण गरेको र त्यो गैरसंवैधानिक रहेको तर्क गरेका छन् । २०७९ मा सम्पन्न निर्वाचनमा जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गर्दै आएका छन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको नतिजामा जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित भएको देखाइएको छ । न्यौपानेले १२ हजार ७८ र जोशीले ११ हजार ८ सय २६ मत पाएको नतिजामा उल्लेख छ । हाल न्यौपानेले नै नगरप्रमुखका रूपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल