मस्र्याङ्दी कोरिडोर अन्तरपालिका समन्वयात्मक बैठक मनाङमा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ६

मस्र्याङ्दी नदी करिडोर अन्तर्गतको अन्तरपालिका समन्वयात्मक बैठक मनाङको चामेमा सम्पन्न भएको छ । मनाङको चामे गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन गरिएको बैठकले करिडोर अन्तरगतका पालिकाको साझा विषयमा छलफल गरेको छ ।

बैठकले मस्र्याङ्दी कोरिडोरमा रहेको सम्भावनाको अध्ययन अवलोकन गरी साझा खाका कोर्ने निर्णय गरेको छ । बैठकले यस क्षेत्रका पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधि सभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधि र यस क्षेत्रका विज्ञहरुसहितको वृहत गोष्ठी यही मंसिर २९ गते काठमाण्डौमा आयोजना गर्ने निर्णय गरिएको बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । उक्त गोष्ठीले करिडोरभित्र रहेका सम्भावना, अवसरका विषमा वृहत छलफल गर्ने र योजनाबद्ध विकासको खाका तयार गर्ने तयारी गरिएको उनले बताए ।

बैठकमा अघिल्लो वैठकले पारित गरेका निर्णय उपर समीक्षा गर्दै करिडोर क्षेत्रमा सहकार्यका क्षत्रहरु पहिचान गर्ने जस्तै शक्षा, स्वास्थ्य, कृषि, फोहोरमैला व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधार, एग्रो टुरिजमलाई सँगसँगै अघि बढाउन आवश्यक कार्ययोजना तयार गर्ने निर्णय समेत गरिएको तनहुँको बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

यसैगरी मस्र्याङ्दी करिडोरको कानूनी बैधताका लागि दर्ता प्रक्रिया अघि बढाउने, डुम्रे–बेशीशहर–चामे सडक द्रुत गतिमा स्तरोन्नति गर्ने कार्य अगाडि बढाउनका लागि करिडोरको तर्फबाट सम्बन्धित निकायमा पहल गर्ने, हाल विश्वव्यापी रुपमा भैरहेको जलवायु परिवर्तनको कारणले प्राकृतिक सम्पदाको रुपमा रहेका हिमालहरु पग्लिएर काला पहाडको रुपमा परिणत भैरहेको परिप्रेक्षमा करिडोर क्षेत्रका हिमाली जिल्लाहरु तथा अन्य क्षेत्रमा यसको अस्वाभाविक प्रभाव कम गराई मानवमैत्री वातावरण निर्माण गर्ने सम्बन्धमा सम्बद्ध निकायमा समाधानका लागि आवश्यक पहल गर्नेलगायतका निर्णय गरेको अन्तरपालिका समन्वय समितीका अध्यक्ष एवं तनहुँको भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

करिडोरभित्रका पालिकालाई कृषिमा आत्मनिर्भर बनाउदै उत्पादित वस्तुको बजारिकरण र साझेदारीका कार्यक्रमहरु संयुक्त रुपमा अगाडि बढाउँदै लैजाने निर्णण गरिएको छ । बैठकले आगामी बैठक माघ महिनाको पहिलो हप्ता गोरखा नगरपालिका गोरखामा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । मस्र्याङ्दी नदी करिडोरमा रहेका लमजुङको बेशिसहर, सुन्दरबजार, राइनास नगरपालिका, दोर्दी, मस्र्याङ्दी गाउँपालिका, तनहुँको भानु नगरपालिका, आबुखैरेनी र बन्दीपुर गाउँपालिका, मनाङको चामे, मनाङ–डिस्याङ र नासोँ गाउँपालिका, गोरखाको गोरखा, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिका करिडोरमा आवद्ध रहेको छन् । बैठकमा करिडोरअन्तर्गतका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू