नेपाल प्रिमियर लिग सुरुः विराटनगरविरुद्ध जनकपुरको शानदार जित

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १५

घरेलु क्रिकेट संरचनालाई बलियो बनाउन र खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना गरिएको छ ।

एनपिएल नेपालमा पहिलो पटक आयोजना भएको हो । विश्वका स्तरीय फ्रेन्चाइज लिगको अवधारणालाई पछ्याउन क्यानले आफ्नै अग्रसरतामा एनपिएल आयोजना गरिएको हो । नेपालको भौगोलिक र सांस्कृतिक परिदृश्यलाई समेत समेट्ने गरी विभिन्न सहर र प्रदेशको नाममा आठ वटा फ्रेन्चाइज टोलीले एनपिएलमा प्रतिस्पर्धा गर्दैछन् ।

पुस ६ गतेसम्म सञ्चालन हुने एनपिएलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन खेल विराटनगर र जनकपुरबिच भएको थियो । उक्त खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराएको हो ।

मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा ग¥यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा २ चौका प्रहार गर्दै अविजित २९ रन बनाए । स्कोर टाई भएको अवस्थामा उनले विजयी चौका प्रहार गरेका थिए ।

विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए ।

कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर, त्यसपछि मिलान्था र हर्ष थाकरले मिलेर इनिङ्स समाले । यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् ।

पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।

त्यसअघि एनपीएलको पहिलो चौका विराटनगरका लोकेश बमले प्रहार गरेका थिए । तर, उनलाई आउट गर्दै जनकपुरका ललित राजवंशी एनपीएलको पहिलो विकेट लिने खेलाडी बने ।

६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर, इल्यास पनि १५ रन बनाएर आउट भए ।

त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७, राजेश पुलामी मगर १, प्रतिश जिसी २, कप्तान सन्दीप लामिछाने ७, क्रिस सोल ४ र तथा जितेन्द्र मुखिया खाता नखोली आउट भए ।

जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै क्यानडियन अलराउण्डर हर्ष थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू