कांग्रेस सभापति देउवा र चीन जाने टोलीसँग प्रधानमन्त्री ओलीको छलफल, बीआरआईबारे परराष्ट्रको प्रस्तुती

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १५

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीका सिलसिलामा शनिबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनका विषयमा कांग्रेस र एमालेबीच सहमति जुटाउने प्रयास चलिरहेका बेला दुई शीर्ष नेताबीच भेट भएको हो।

राससका अनुसार, चीन भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग परामर्श गरेका हुन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा जाँदै छन्। त्यसैको तयारीस्वरूप विभिन्न पक्षसँग छलफल र परामर्श भइरहेको प्रधानमन्त्रीको निजी सचिलालयले जनाएको छ।

यसै विषयमा भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेकपा एमालेका नेताहरूसँग पनि प्रधानमन्त्री ओलीले छलफल गरेका छन्। दलका शीर्ष नेता र संयन्त्रस्तरमा विभिन्न चरणमा बीआरआईलगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा घनीभूत छलफल भएको राससले जनाएको छ।

आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरूसँँग पनि विमर्श भएको छ। त्यस क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

‘हाम्रो चीन भ्रमण सफल हुनेछ। हामी त्यसकै निम्ति भगीरथ प्रयास गर्छौँ,’ प्रधानमन्त्री ओलीले भने, राष्ट्रको गरिमा बढाउन र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित हुनेछ।’

परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र उक्त मन्त्रालयका प्रवक्ता एवं उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले क्रमशः दुई पक्षीय सम्बन्धका समग्र पक्षका साथै कूटनीतिक व्यवहार, शिष्टाचार एवं समारोह र बीआरआई फ्रेमवर्कबारे जानकारी दिएका थिए।

कार्यक्रमपछि प्रवक्ता ढकालले सम्पर्क सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग घनीभूत छलफल हुने जानकारी दिए। साथै चिनियाँ सहयोगका क्षेत्र विस्तार हुने विश्वास पनि उनले व्यक्त गरे।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका थिए।

मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण र त्यसमा सम्मिलित प्रतिनिधिमण्डल स्वीकृत गरिसकेको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि भेटर्वाता गर्ने कार्यक्रम छ।

यस्तै प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ भने बेइजिङस्थित नेपाली राजदूतावास चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि बनेको छ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय संसद्का सदस्यलगायत रहनेछन्।

प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरूप नै परराष्ट्र मन्त्री राणा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गरी शनिबार स्वदेश फर्किइसकेकी छन्। उनी बिहीबार चीनको छेन्दु प्रस्थान गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू