दमौली, मंसिर २१
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट शारीरिक तथा मानसिक यातना भोग्नु परेकोमा ति मध्ये १६ जनामा मानसिक समस्या देखिएको थियो । उनीहरुले हालसम्म पनि नियमित औषधि सेवन गर्नु परेको पीडितहरुले बताएका छन् ।
द्वन्द्वकालिन यातना पीडित समाज तनहुँका अध्यक्ष विष्णुप्रसाद भट्टराईले १६ जना यातना पीडितहरुले नियमित रुपमा मानसिक समस्याको औषधि सेवन गरिरहनु परेको बताए । राज्यपक्षबाट गम्भिर यातना भोग्नु भएका भट्टराईले आफुले हालसम्म नियमित रुपमा औषधि सेवन गर्नु परिरहेको बताए ।
मानसिक समस्या रहेका यातना पीडितहरुको सहयोगको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको मनोविमर्श केन्द्रमा पीडितहरु गएर उपचार र औषधिको सिफारिस लिएपछि औषधि निशुल्क पाइने भट्टराईले बताए । तनहुँका सबै १६ जनाले उक्त मनोविमर्श केन्द्रबाट नियमित सेवा र औषधि लिइरहेको भट्टराईले जानकारी दिए ।
कोपीला नेपाल पोखराद्वारा बुधबार दमौलीमा आयोजित यातना पीडितहरुको सवालमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने यातना पीडितहरुले हालसम्म औषधी सेवन गर्नु परेको कारणले निकै समस्या भोग्नु परेको बताए । अर्की यातना पीडित व्यास नगरपालिका–६ की कमला मालले आफूले द्वन्द्वकालमा राज्यपक्षबाट चरम यातना पाएको भन्दै त्यसैको असर स्वरुप हालसम्म नियमित रुपमा शारीरिक र मानसिक समस्याको औषधि सेवन गरिरहनु परेको बताइन् । यातनाको कारण आफ्नो शरिर छियाछिया भएको भन्दै उहाँले नियमति औषधि सेवन नगर्ने हो भने केही काम गर्न नै नसक्ने बताइन् । उनले द्वन्द्वकालमा आफ्नो पति समेत गुमाएकी थिइन् ।
शान्ति प्रक्रिया सुरु भएको करिब १९ वर्ष भईसक्दा पनि अझैसम्म द्वन्द्वकालका यातना पीडितहरुले न्याय नपाएको भन्दै अर्का यातना पीडित शुक्लागन्डकी नपा–८ का रामेश्वर भट्टराईले नियमित औषधि सेवन गर्नु पर्ने बिरामीहरुलाई राज्यले नियमित रुपमा आर्थिक सहायता गर्नुपर्ने बताए ।
तनहुँमा संगठित भएका यातना पीडितहरुले जिल्लाभर हाल ३ ओटा स्वावलम्बन समूह गठन गरेका छन् । उक्त १० ओटा समुहमा ९० जना यातना पीडितहरु सदस्य छन् । उक्त छुट्टाछुट्टै समूहका सदस्यहरु आय आर्जनका काममा पनि संलग्न भएको कोपीला नेपालका सामाजिक सहजकर्ता भुवन सापकोटाले जानकारी दिए । उक्त स्वाबलम्बन समुहले नियमिति बैठक गर्ने, पीडा साझा गर्ने तथा आफ्ना समस्याहरुको बारेमा स्थानीय सरकारसँग अन्तरक्रिया गर्ने लगायतको काम गर्दै आएको सापकोटाले जानकारी दिए ।