देवघाट, मंसिर २१
युवा समाजसेवी गुरुङद्वारा खाद्यान्न र लत्ताकपडा सहयोग
देवघाट गाउँपालिका–५ साँढेबगरका ७५ बर्षीय विरबहादुर सारु मगर विगत नौ वर्षदेखी प्यारालाईसिस (पक्षघात) को कारण ओच्छ्यानमा परेका छन् । प्यारालाईसिसको कारण सारु ओच्छ्यान छोडेर हिडडुल गर्न सक्दैनन् । यसैगरि उनकी पत्नि ५५ बर्षीय रेवतीलाई पनि केही वर्ष अघि देखी प्यरालाइसिसको समस्या देखिएको छ । उनीहरुका एक मात्र छोरा २५ बर्षीय सुदेश सारु पनि मानसिक अपाङ्गता भएका छन् ।
अति निम्न आर्थिक अवस्था भएका सारु मगर दम्पत्तीसँग प्यारालाईसिसको औषधी खाने पैसा छैन । ७५ बर्ष भएका विरबहादुरले जेष्ठ नागरिक भत्ता वापतको मासिक ४ हजार रुपैयाँ पाउने बाहेक उक्त परिवारले हालसम्म कुनै पनि र कतैबाट पनि आर्थिक सहायता पाएका छैनन् । स्थानीय सरकारका प्रमुखहरुसँग त उनीहरुको अवस्थाको बारेमा जानकारी समेत छैन ।
तिन जनाको परिवारमा सबै जना अपाङ्गता भएपछि उनीहरुलाई बिहान र बेलुकीको खाना छिमेकी र आफन्तहरुले दिन्छन् । सारु दम्पत्ती २४ सै घन्टा ओच्छ्यानमै परेका छन् । उनीहरुको दिसा पिसाब समेत सोही ठाउँमा हुने गरेको छिमेकीहरुले बताएका छन् । छिमेकीहरुले नै उनीहरुको अहिलेसम्म हेरचाह गर्दै आएका छन् ।
देवघाटका युवा समाजसेवी तथा नेकपा एमालेका जिल्ला कमिटि सदस्य शुकुलाल गुरुङले सारु दम्पत्तीको अवस्था निकै दयनिय भएको बताएका छन् । उनीहरुलाई राज्यका कुनै पनि निकायले कुनै पनि सहायता नगरेको बताएका छन् ।
सारु दम्पत्तीको दयनिय अवस्था भएको कारण समाजसेवी गुरुङले शुक्रबार १५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । पहिलेदेखी नै आर्थिक अवस्था निकै कमजोर रहेको उक्त परिवारमा अभिभावक दुबै जना प्यारालाइसिसको विरामी भएपछि अहिले औषधी खाने पैसा नभई झन समस्यामा परेको गुरुङले बताए ।