दमौली, मंसिर २९
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा धनपती (डिपी) अधिकारी निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा अधिकारीले खसेको ४४ मतमा ३३ मत पाई निर्वाचित भएका थिए । अध्यक्षका अर्का प्रत्यासी नारयण खड्काले ११ मत पाए । अध्यक्षमा निर्वाचित अधिकारीलाई प्रेस युनियन र प्रेस चौतारीको समर्थन थियो भने खड्कालाई प्रेस सेन्टरको समर्थन रहेको थियो । अधिकारी यस अघि पत्रकार महासंघ तनहुँको उपाध्यक्ष थिए । उनी डुम्रे स्थित रेडियो बन्दिपुरका स्टेशन म्यानेजर हुन् ।
यसैगरि महासंघको उपाध्यक्षमा प्रताप राना निर्वाचित भएका छन् । निर्वाचनमा रानाले ३० मत र प्रतिद्वन्द्वी सानेबहादुर नेपालीले ११ मत पाएका थिए । राना यस अघिको कार्यकालका सचिव हुन् । त्यस्तै सचिवमा कृष्णचन्द्र न्यौपाने निर्वाचित भए । न्यौपानेले २६ मत पाएका थिए भने न्यौपानेका प्रतिद्वन्द्वी अस्मिता खनालले १६ मत पाएकी थिइन् । यस्तै खुल्ला तर्फको सहसचिवमा ऋषीकान्त दुवाडी निर्वाचित भए । दुवाडीले ३० मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी बिनोद ढुङ्गानाले १३ मत पाएका थिए ।
यसैगरि चार खुल्ला तर्फको सदस्यको लागि भएको निर्वाचनमा विकास खनाल (४१ मत) विष्णु गौतम (३६ मत), उपेन्द्र खनाल (३५ मत) र राजेश्वर हड्खले (३० मत) बिजयी भएका छन् । सदस्य पदका उम्मेदबार अशोक विकले ११ मत पाएको मुख्य निर्वाचन अधिकृत कमलामोहन वाग्लेले जानकारी दिएका छन् । पत्रकार महासंघ तनहुँ शाखामा ५१ जना सदस्य रहेकोमा ४४ जनाले मतदानमा भाग लिएका थिए ।
यस अघि महासंघको कार्य समितिमा महिला उपाध्यक्षमा सम्झना रसाईली, समावेशी सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पुर्णबहादुर विक तथा सदस्यहरु मध्ये महिला सदस्यमा सुनिता आचार्य, आदिवासी जनजाती सदस्यमा चित्र गुरुङ र दलित सदस्यमा मुना कालिराज विके निर्विरोध निर्वाचित भएका थिए । यसैगरि संघीय परिषद सदस्यहरुमा प्रदिप काफ्ले र राजकुमार श्रेष्ठ विवि तथा प्रदेश परिषद सदस्यहरुमा शंकरराज नहर्की, मिला दरै र सुनिता थापा निर्विरोध निर्वाचित भएका थिए ।