अन्जान परियार । घिरिङ, पुस २९
घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको उपाधी चन्द्रज्योती माविले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सो प्रतियोगिता पुस २५ देखि २६ सम्म वडा नम्बर ४ गड्यौलिटार स्थित महेन्द्र माविको प्राङ्गणमा एथलेटिक्स सम्बन्धी खेल भएको थियो । बाँकी रहेको भलिबल खेल भने पुस २७ देखि २९ गते सम्म वडा नम्बर ३ को पोखरीछाप स्थित खेल मैदानमा भएको थियो ।
उक्त खेलकुद प्रतियोगितामा १४ बिधाको खेल सन्चालन भएको थियो भने छात्र र छात्रा गरि २८ खेल सन्चालन भएको थियो । गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालय सहभागी रहेकोमा चन्द्रज्योतीले १७ स्वर्ण ३ रजत १ कास्य गरि २१ पदक सहित प्रथम भएको हो । यसैगरि महेन्द्र ज्योती माविले ४ स्वर्ण ५ रजत ९ कास्य सहित द्वित्तीय भएको छ भने दिपक मावि ३ स्वर्ण २ रजत ५ कास्य सहित तृतीय भएको छ ।
यस्तै कृष्ण माविले २ स्वर्ण १० रजत ६ कास्य, सरस्वती मावि १ स्वर्ण ४ रजत १ कास्य, कामधेनु मावि १ स्वर्ण ३ रजत ३ कास्य र राष्ट्रिय माविले १ रजत ३ कास्य प्राप्त गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद सुबेदीले जानकारी दिए ।
बिजेता हुने चन्द्रज्योती माविलाई ३० हजार, उपबिजेता महेन्द्रज्योती माविलाई २० हजार र तृतिय भएको दिपक माविलाई १० हजार नगद सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।
घिरिङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तहलसिं थापाको अध्यक्षतामा सोमबार गाउँपालिका खेल मैदानमा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर थापाले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष थापाले सो कार्यक्रमको अबसरमा खेलकुद मैदान नहुँदा दुख ब्यहोर्नु परेकोले गाउँसभाबाट बजेट बिनियोजन गरिएको बताए । सबैको चासोको बिषय बनेको कृष्ण मोटरमार्ग निर्माणको लागि स्थानीय तहले मात्र नभई संघीय र प्रदेश सरकारको ध्यानाकर्षण हुनु पर्ने बताए । उनले सो मार्गमा गाउँपालिकाबाट बिनियोजन गरेको पाँच करोडको काम छिट्टै हुने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा नम्बर २ का अध्यक्ष नर बहादुर थापा, एमाले घिरिङका अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुबेदीले सनचालन गरेको कार्यक्रममा चन्द्रज्योती माबिका प्रधानाध्यापक प्रेम थापाले थापाले स्वागत मन्तब्य राखेका थिए ।