दमौली, माघ ५
नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल महोत्सव’ शनिबार सम्पन्न भएको छ । महोत्सव समापन कार्यक्रममा गन्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल प्रमुख अतिथी रहेका थिए ।
‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतिपसल बजार इकाईको आयोजनामा भएको उक्त महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्ता मेला र महोत्सवले आर्थिक गतिविधि चलायमान गराउने तथा स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने बताए ।
महोत्सव मुल आयोजक समितिका संयोजक रमेशचन्द्र भट्टराईले स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्न यस महोत्सव सफल हुने बताए । महोत्सवले यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई प्राथमिकता दिएको भट्टराईले बताए ।
गत पुस २४ गतेबाट सुरु भएको सो महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलको बारेमा देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लगायत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको महोत्सवका प्रवक्ता ओमविर गुरुङले बताए ।
महोत्सव ४० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको र एक करोड आर्थिक कारोबार एको संयोजक भट्टराईले जानकारी दिए । महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु–घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन, स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रचियोगिता सञ्चालन गरिएको थियो ।
महोत्सवमा कुल १ सय २० वटा स्टल रहेको थियो । तीमध्ये कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइएको थियो । लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्लेमा सञ्चालन गरिएको यस महोत्सवले भविष्यमा अन्य महोत्सव सन्चालन गर्ने आधार प्रस्तुत गरेको प्रवक्ता गुरुङले बताए ।
महोत्सवको अन्तिम दिन शनिबार लोकप्रिय गायक बद्री पंगेनीले गित प्रस्तुत गरेका थिए । पंगेनीका लोकप्रिय गितहरुले दर्शकहरु निकै मनोरन्जन लिएका थिए ।
महोत्सव समापनको अवसरमा महोत्सव सफल पार्न सहयोग गर्ने विभिन्न टोल विकास संस्था, जातीय संघ संस्था, विभिन्न सामाजिक संघ संस्था, आमा समुह, युवा क्लव, धार्मिक संघ संस्था, सन्चारमाध्यम, सामुदायिक तथा संस्थागत विद्यालय तथा अन्य सहयोगी संघ संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो ।