देवघाट, माघ ७
देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज भुर्तेलले मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने घोषणा गरेका छन् । महा–महोत्सवका संयोजक समेत रहेका डा.भुर्तेलले उक्त संकल्प गर्दै महोत्सवलाई थप गरिमामय बनाउन विशेष योगदान घोषणा गरेका छन् ।
मातापिता सेवाश्रमको ३६५ कोठा निर्माण परियोजना र देवघाट दिव्यधामका लागि आफ्ना तर्फबाट कोठा निर्माणका साथै मूल यजमान सेवा अन्तर्गत गरि कूल एघार लाख रूपैयाँ समर्पण गर्ने डा.भुर्तेलले घोषणा गरे । डा.भुर्तेलले देवघाट महा–महोत्सव र मातापिता सेवाश्रमलाई चिकित्सा सेवासँग जोड्न देशभरका समस्त चिकित्सकहरूलाई एकजुट गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मातापिता सेवाश्रम निर्माणपछि देवघाट पवित्र क्षेत्रमा कल्पवास गर्न आउने वृद्ध मातापिताहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न आजीवन खटिने संकल्प समेत गरे । ‘उपलब्ध स्रोत र साधनले भ्याएसम्म वृद्ध मातापिताहरूको स्वास्थ्य सेवा सुनिश्चित गर्न मेरो पूर्ण प्रयास रहनेछ’ उनले भने ।
डा.भुर्तेलले मातापिता सेवाश्रम र देवघाट दिव्यधामको परिकल्पना अघि सारेर समाजमा माधव अनि मानवसेवाको अनुकरणीय उदाहरण प्रस्तुत गरेकामा संकल्पकर्ता इश्वरकृष्ण महाराजलाई धन्यवाद व्यक्त गरे । यस्तो महान कार्यमा आफूलाई समेटेर सेवा गर्ने अवसर प्रदान गरिएकोमा हर्षित र गौरवान्वित भएको उल्लेख गर्दै डा. भुर्तेलले इश्वरकृष्ण महाराजको प्रेरणाले यस पुण्यभूमि र सेवाको महत्वलाई अझ व्यापक बनाएको बताए ।
मातापिता सेवाश्रम ३६५ कोठाहरूको संरचनासहित वृद्धवृद्धा र असहायहरूको लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले निर्माणाधीन छ । यो परियोजनाले देवघाट क्षेत्रलाई धार्मिक, सांस्कृतिक र सामाजिक सेवाको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने महत्वाकांक्षालाई अघि बढाएको छ ।
देवघाट महामहोत्सवले धार्मिक, सांस्कृतिक र सामाजिक सेवाको संगम प्रस्तुत गर्दै देशभरका श्रद्धालु भक्तजनलाई देवघाटमा समर्पित योगदान गर्न प्रेरित गरिरहेको छ । डा.भुर्तेलले महोत्सवको सफलता र मातापिता सेवाश्रमको निर्माण सम्पन्न गर्न देशभरका चिकित्सक, समाजसेवी र श्रद्धालुहरूलाई यस पुण्य कार्यमा सहभागी हुन आह्वान गरेका छन् ।