देवघाट, माघ १०
देवघाटधाममा जारी देवघाट महा–महोत्सव आज १० औं दिनमा प्रवेश गरेको छ । आजदेखि श्रद्धेय किशोरशरण जी महाराजको शिव महापुराण वाचन सुरु हुँदैछ । बिहान ८ बजेबाट प्रारम्भ भएको यस प्रवचनले श्रद्धालु भक्तजनलाई भक्ति र आध्यात्मिकतामा डुबाउने विश्वास गरिएको छ । मधुरता र भक्तिभावका स्रोत किशोरशरण जी महाराजले नेपाल र भारतभरका धार्मिक स्रोता माझ आफ्नो भक्तिरसमय कथाका माध्यमबाट विशेष ख्याती कमाएका छन् ।
आजै सुप्रसिद्ध कथावाचिका देवी प्रतिभाजीको बिदाईको हुनेछ । दिउँसो २ बजे आयोजना हुने विदाई कार्यक्रममा देवीजीले आफ्नो दश दिनको कथा वाचन पूरा गरी भक्तजनहरूसँग विदा लिनेछिन् । देवी प्रतिभाले महोत्सव भरि भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै भक्तजनको मन जितेकी छिन् ।
विदाई समारोहका क्रममा देवीले विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई आज विशेष रूपमा कथा मंचमा स्वागत गर्नेछिन् । आज दिउँसो ३ बजे देवघाट महोत्सवमा आधिकारिक रूपमा आफ्नो कथा वाचन सुरु गर्नुभन्दा अघि अनुराधालाई विशेष पाल्किमा राखेर नगर परिक्रमा गराई सम्मानपूर्वक मंचमा विराजमान गराइने कार्यक्रम रहेको आयोजकले जनानाएका छन् ।
सानै उमेरदेखि संस्कृत, हिन्दी र नेपाली भाषामा कथा वाचन गर्दै श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल पाण्डेयले महोत्सवभरि सात दिनसम्म कथा वाचन गर्नेछिन् । उनको आगमनले महोत्सवलाई थप भव्यता र भक्तिभावले भरिने अपेक्षा आयोजकले गरेका छन् । आयोजकहरूका अनुसार, महोत्सवका बाँकी २१ दिनसम्म धार्मिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुनेछन् । हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म कथा प्रवचन हुनेछन् । साँझ ५ बजेपछि गण्डकी महाआरतिको भव्य कार्यक्रम सञ्चालन हुनेछ । आरतिका क्रममा गण्डकी नदी किनारमा दीपप्रज्ज्वलन गर्दै विशेष पूजाआजा गरिनेछ ।
देवघाट महामहोत्सवमा दिनदिनै श्रद्धालुहरूको संख्या बढ्दो रहेको आयोजकले जनाएको छ । आयोजकहरूको अनुमानअनुसार, हरेक दिन हजारौं भक्तजनले महोत्सवका कार्यक्रमहरूमा सहभागीता जनाइरहेका छन् । आयोजकहरूले बाँकी कार्यक्रमहरूमा पनि उपस्थित हुन सम्पूर्ण भक्तजनलाई विशेष निमन्त्रणा गरेका छन् । विशेषतः किशोरशरण जी महाराजको शिव महापुराण, अनुराधा पाण्डेयको कथा वाचन, र गण्डकी महाआरतिको अवसरलाई जीवनमा दुर्लभ उपलब्धिका रूपमा लिन आग्रह गरिएको छ ।
देवघाट महामहोत्सवको १० औं दिन महत्त्वपूर्ण धार्मिक गतिविधिहरूको सुरुआत, एक ख्यातिप्राप्त व्यक्तित्वको विदाई, र अर्को विशिष्ट व्यक्तित्वको स्वागतको दिनका रूपमा यादगार बन्ने आयोजकले दावी गरेका छन् । आयोजकहरूको सुव्यवस्थित भव्य व्यवस्थापन र भक्तजनहरूको उत्साहले महोत्सवलाई अझै प्रभावकारी बनाइरहेको छ । यो पावन अवसरमा सहभागी भएर पुण्य लाभ लिनका लागि सबैलाई आयोजक विश्व जागरण महाअभियान ट्रष्टले अनुरोध गरेको छ ।