देवघाट, माघ ३०
माघ महिनाको अन्तिम दिन बुधबार पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । माघ शुक्ल पुर्णिमा, मकर स्नानको अन्तिम दिन तथा श्रीस्वस्थानी ब्रतकथाको समाप्तिको दिन भएकोले उल्लेख्य भक्तजनहरु देवघाटमा स्नान गर्न आएका छन् ।
देवघाटमा बिहानैदेखी भक्तजनको भिड लागेको थियो । सवारी साधनको भिड बढेपछि चितवनबाट देवघाट जाने चार पाङग्रे देखी माथिका सवारी साधनलाई रामनगर हुँदै जाने र आपँटारी हुँदै फर्कने व्यवस्था मिलाईएको थियो भने मोटरसाईल र अटोलाई आँपटारी हुदै देवघाट जान सकिने व्यवस्था मिलाईएको थियो ।
त्यसैगरि इश्वरकृष्ण महाराजको संकल्पमा गत माघ १ गतेदेखी देवघाटमा जारी देवघाट महा–महोत्सव तथा देवघाट दिव्यधाम शिलान्यास कार्यक्रमको आज समापन कार्यक्रम भएको कारण पनि सो महोत्सवमा सहभागी हुन टाढा टाढाबाट भक्तजन देवघाट आएका छन् ।