देवघाट, फागुन ८
हिन्दु धर्मावलम्बीले सदियौं देखी पुज्दै आएको पवित्र कालीगन्डकी नदीको पानीलाई डाँडामा प्वाल पारेर कुलो बनाइ अर्कै खोलामा झार्ने सरकारी योजना कालीगन्डकी डाइभर्सनको योजना स्थगित नगरे उक्त मुद्धालाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी कालीगन्डकी संरक्षणकर्ताहरुले दिएका छन् । बुधबार देवघाटमा आयोजित पवित्र कालीगण्डकी नदीको प्राकृतिक स्वरूप र संरचना संरक्षणका निम्ति जनस्तरबाट गरिनुपर्ने साझा पहल र सूचना निर्धारण गर्ने उद्देश्यले अभियन्ता र सरोकारवालाहरूको विशेष सहभागितामा भएको उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने सोधकर्ताहरुले कालीगन्डकीको संरक्षणको मुद्धालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने जोड दिएका थिए ।
कालीगण्डकीको विषयमा लामो अध्ययन गर्दै आएका तथा कालीगन्डकी कै विषयमा विद्यावारिधी समेत गरेका डा.कुलराज चालिसेले डाइभर्सन गरेर कालीगण्डकीको पानी अन्यत्र लैजाने विषय पानी चोरीको विषय भएको बताए । उनले संघीय सरकारले यो योजना स्थगित नगरे यस मुद्दालाई अन्तराष्ट्रीयकरण गर्ने चेतावनी दिए ।
कालीगण्डकी डाइभर्सनले तल्लो तटीय क्षेत्रको १३० हजार हेक्टर क्षेत्रफलको खाद्य सुरक्षा खलबलिने, नदी आडका धाममा स्नानका लागि होइन कि दाहसंस्कारको खरानी पखाल्न पानी समेत नहुने उनले बताए । ‘चाडपर्वमा गर्ने स्नानको कुरै छाडौं, अन्तिम संस्कार पछि खरानी पखाल्ने पानी समेत हुँदेन ।’ उनले भने कालीगन्डकी पथान्तरणले जलसंस्कृति सम्बाहकहरुलाई पुर्ण रुपमा प्रभावित पार्ने उनले बताए ।
पाल्पाको रम्भा गाउँपालिकाको पिपलडाँडाको फेदीबाट ९ मिटर व्यासको सुरुङ बनाई ८२ दशमलव १० प्रतिशत घनमिटर प्रतिसेकेन्डका दरले दोभानमा र त्यही पानी बुटवलदेखी ३ किमी पश्चिम बेलवासमा लगेर १३२ मेघावट बिजुली निकाल्ने र पावरहाउसबाट निस्कने पानीले रुपन्देही र कपिलबस्तुको करिब एक लाख हेक्टर भुमी सिंचाई गर्ने विस्तृत परियोजना प्रतिबेदन अपत्यारिलो हावादारी रहेको डा.चालिसेले बताए ।
संघीय सरकारले २०७१ सालको नीति तथा कार्यक्रम र बजेटमा कालीगण्डकी डाइभर्सनको योजना ल्याएको हो । ‘नौ मिटर व्यासको सुरुङ बनाई कालीगण्डीलाई पिपलडाँडाबाट तिनाउमा मिसाउने योजना छ । रुपन्देही र कपिलवस्तुमा सिँचाइ गर्नुका साथै १३२ मेगावाट बिजुली निकाल्ने यो परियोजना आफैमा पत्यार लाग्दो भने छैन,’ चालिसेले भने । योजनाको लागतको तुलनामा यसले दिने फाइदा निकै कम भएको उनले बताए ।
कालीगन्डकी हिमाल पग्लेर नित्य बग्ने नदी हो, पुराणकालदेखी नै सन्त समागम भएको कारणले कालीगन्डकीको प्रख्याती बढेको भन्दै उनले सागरको गहिराईबाट वराहनारयणले उचालेर स्थापित गर्नुभएको दामोदर हिमालमा प्रकट भई प्रमाणस्वरुप छाड्नु भएको अर्चावतार शालिग्रामशिला गर्भमा धारण गर्ने कालीगन्डकी नदी साक्षात बेदमाता भएको भन्दै उनले कालीगन्डकीलाई तिनाउमा मिसाउँदा कालीगन्डीको अस्तित्व मेटिने बताए ।
पर्वत जिल्लामा रहेर कालीगण्डकी संरक्षणमा लागेका अभियन्ता आरके अदिप्त गिरीले कालीगण्डकी विरुद्ध ठूलाठूला मानवीय अतिक्रमणको खेल भइरहेको हुँदा यसलाई जोगाउन पनि ठूलो अभियान आवश्यक पर्ने बताए । ‘डाइभर्सनको प्रपञ्च विडम्बना हो । राज्यसंयन्त्र संरक्षणमा भन्दा पनि दोहनमा लाग्छ । कालीगण्डकी तटमा डेढ सयभन्दा बढी ठूला खाले क्रसर छन् । दोहन अनियन्त्रित छ । पानीको प्राकृतिक बहाव रोक्ने योजना छन्, यसका विरुद्ध ठुलै अभियान चाल्नुपर्ने भएको छ’ गिरीले भने ।
पृथ्वीनारयण क्याम्पस पोखराका उपप्राध्यापक एवं सोधकर्ता डा.रामचन्द्र बरालले कालीगन्डकी नदीले ३५ वटा पालिकाका दुई लाख ८८ हजार ५२७ घरधुरीका १३ लाख २२ हजार ५३८ जनसंख्या लाभान्वित भएको बताए ।
पोखरा स्थित विन्ध्यवासिनी संस्कृत गुरुकुलका प्राचार्य डा.जगन्नाथ रेग्मीले पुराणले देवघाटलाई आदिप्रयाग भनेको हुँदा कालीगण्डकीको धार्मिक मान्यतालाई आघात पुग्ने गरी गतिविधि र योजना बनाउन नहुने बताए ।