बन्दीपुर, फागुन १३
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. अनिल गिरीले पदभार ग्रहण गरेका छन् । उनलाई सोमबार अस्पतालको मेसुको जिम्मेवारी दिइएको हो । डा. गिरीले औपचारिक समारोहबीच पदभार ग्रहण गरेका हुन् ।
प्रदेश लोक सेवा आयोगको सिफारिस अनुसार डा. गिरी नवौं तहमा मेडिकल सुपरिटेन्डेन्टको स्थायी नियुक्ति पाई अस्पतालमा आएका हुन् । आयोगले स्थायी नियुक्तिको निर्णय गर्दै उनलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । यसअघि डा. गिरी चतरा अस्पताल, सुनसरीमा कार्यरत थिए । त्यहाँको कार्यकालमा गरेका कामको धेरैले प्रशंसा गरेका छन् ।
बन्दीपुर अस्पतालमा आयोजित एक स्वागत तथा परिचयात्मक कार्यक्रमबीच उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन् । सोही अवसरमा सेवा निवृत्त भएका कर्मचारीहरूको बिदाइ कार्यक्रम र कर्मचारी बैठक पनि सम्पन्न गरिएको थियो ।
बन्दीपुर अस्पतालमा लामो समयदेखि स्थायी मेसु पद रिक्त रहँदै आएको थियो। गाउँपालिकाले पटक–पटक स्थायी मेसु पठाउन सम्बन्धित निकायमा आग्रह गरेको थियो । स्थायी नियुक्ति नभएसम्म आठौं तहका डाक्टरहरूले निमित्त मेसुको रूपमा काम गर्दै आएका थिए ।
२०२२ सालमा स्थापना भएको बन्दीपुर अस्पतालमा हाल १५ शैयाको क्षमता रहेको छ। अस्पतालमा हाल ४ जना डाक्टरहरूको टिमले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । दाँत तथा आँखाको उपचार, आकस्मिक सेवा, सुत्केरी सेवा, वृद्धा तथा अपाङ्ग र अति विपन्नलाई निःशुल्क उपचार, एम्बुलेन्स सेवा, माइनर अपरेशन, फार्मेसी, ल्याब, भिडियो एक्सरे र एक्सरेजस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण श्रेष्ठका अनुसार, यस आर्थिक वर्षदेखि नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने योजना छ । साथै, वडा नं १ स्थित डुम्रे बजारमा विस्तारित सेवा सञ्चालन गर्नका लागि गाउँपालिकाले तीव्र रूपमा काम गरिरहेको जनाएको छ ।