तनहुँ । फागुन १३
कालीगन्डकी डाइभर्सनले पार्ने असर र प्रभावको बारेमा मंगलबार देवघाटमा सरोकारवालाहरुको विचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कालीगन्डकी नदीको संरक्षण र कालीगन्डकी डाइभर्सनले पार्ने असर र प्रभावको बारेमा देवघाटबासीहरुसँग छलफल गर्ने उद्देश्यले नेपाल सन्त समाजको आह्वानमा गलेश्वर आश्रममा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले कालीगण्डकी डाइभर्सन कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । देवघाट र कालीगण्डकी नदीको विशेष धार्मिक महत्व रहेको हुँदा त्यसलाई जोगाएर राख्नुपर्नेमा सांसद भण्डारीको जोड रहेको थियो । कालीगण्डकीलाई डाइभर्सन गरेको खण्डमा देवघाटको अस्तित्व समेत संकटमा पर्ने सांसद भण्डारीको भनाई रहेको थियो । कालीगण्डकी डाइभर्सन गर्दा विश्वभरिका हिन्दूहरुको भावनामा समेत चोट पुग्ने र कालीगण्डकीको सभ्यता नै नाश भएर जाने सांसद भण्डारीले बताए ।
कालीगण्डकी डाइभर्सन रोक्नका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहेको र आम नागरिकले समेत साथ दिनु पर्नेमा समेत सांसद भण्डारीले जोड दिए । कालीगण्डकी डाइभर्सनको विषयलाई लिएर आफू सदनमा आवाज उठाउने सांसद भण्डारीले बताए । कालीगन्डकी नदी जोगाउन यसको तटिय क्षेत्रका स्थानीय तहले पनि चासो लिनुपर्ने सांसद भण्डारीले बताए ।
कार्यक्रममा गलेश्वर आश्रम देवघाटमा पिठाधिश महामन्डलेश्वर स्वामी आत्मनन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधिश ज्ञानानन्द सरस्वती तथा महेश सन्यास आश्रमका पिठाधिश रमणानन्द गिरीले कालीगण्डकी नदीलाई संसारभरका हिन्दु सनातनीहरूको साँस्कृतिक सम्पदा र नेपालको राष्ट्रिय नदीका रूपमा स्थापित गर्न तथा कालीगण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाह सुरक्षित गर्न, गण्डकीको तल्लो तटीय क्षेत्रसम्म शालग्रामको निर्वाध उपलब्धतामा बाधा व्यवधान गर्ने मानवीय अतिक्रमण र दोहनको कार्य र संघीय सरकारबाट प्रस्तावित कालीगन्डकी डाइभर्सनको योजना स्थगत गर्नुपर्ने बताए ।
कालीगन्डकी डाइभर्सन भएमा देवघाटको अस्त्वि समाप्त हुने भन्दै देवघाटबासीले उक्त योजना रद्ध गर्न माग गर्दै आएका छन् । दोमदरकुण्डबाट बग्दै आएको कालीगन्डकी नदी र गोसाईकुण्डबाट बग्दै आएको त्रिशुली नदी देवघाटमा मिल्छ । उक्त दुई नदीको संगम रहेको स्थान देवघाटमा विभिन्न धार्मिक पर्वहरुमा ठुलो मेला लाग्नेगर्छ । कालीगन्डकी डाइभर्सन भएमा कालीगन्डकी नदी खण्डहर हुने र देवघाटको धार्मिक अस्तित्व समेत समाप्त हुने देवघाटबासीले चिन्ता व्यक्त गरेका छन् ।
सो कार्यक्रममा देवघाटका समाजसेवी कुलचन्द्र न्यौपानेले राजनीति भनेको समाज र देशको काम गर्ने भएको भन्दै कालीगण्डकी नदीको विशषता र यसको महत्व सबैले बुझ्नु जरुरी रहेको बताए । कालीगण्डकी डाइभर्सन रोक्न सबैले चासो लिने बिषय भएको र यसलाई सबै एकजुट भएर वहुआयामिक मुद्धा बनाई अगाडि बढ्न जरुरी रहेको बताए ।
उक्त कार्यक्रममा गैडाकोट नगरपालिकका प्रमुख मदनभक्त अधिकारी, गैडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, रामपुर नगरपालिका पाल्पाका सल्लाहकार कष्णप्रसाद पौडेल, महेश संस्कृत विद्यापिठका प्राचार्य फणीन्द्रप्रसाद पौडेल, समाजसेवी रामनाथ मिश्र लगायत विभिन्न राजनीति दलका प्रतिनिधि समाजसेवी तथा स्थानिय सहभागिता रहेको थियो ।