तनहुँ । फागुन १५
तनहुँका मगर समुदायले विहिबार विभिन्न कार्यक्रमका ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर संघको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।
“मगरात सभ्यता दस्तावेजीकरण गर्दै, लेखन संस्कृति सङ्ग्रहालय बनाऔं, साङ्गठनिक रुपमा ४३ औँ स्थापना दिवस सफल पारौं” भन्ने नारासहित जिल्लास्तर देखी पालिका र वडा तहसम्म यो दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको थियो । तनहुँका १० वटै स्थानीय तहमा मगर संस्कृतिमा आधारित झाँकीसहित मौलिक खानाका परिकार प्रदर्शनी गरी दिवस मनाइएको थियो । नेपाल मगर संघ तथा मगर समुदाय सम्बद्ध विभिन्न समूहले पालिकासँगको सहकार्यमा कार्यक्रम गरिएको नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका सांयोजक सिद्धान्त गर्जा मगरले बताए ।
कार्यक्रममा मगरी भेषभूषासहित मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
मगर जातिको बाहुल्यता रहेको तनहुँमा दिवसको अवसर पारेर सबै पालिका मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू भइरहेको नेपाल मगर संघ तनहुँको अध्यक्ष खड्गसिंह थापा मगरले बताए । जिल्लाको सबै पालिकामा नेपाल मगर संघको पालिका स्तरको समितिले पालिकाहरू सँगको सहकार्यमा कार्यक्रम गरिएको उनले बताए ।
दिवसको उपलक्ष्यमा तनहुँको सदरमुकाम दमौलीको अनचौतारीमा भेषभूषासहित मगर समुदायमा प्रचलित कौरा, झ्याउरेलगायतका विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । झाँकी तथा ¥यालीले दमौली बजारको परिक्रममा गरिएको थियो । नेपाल मगर संघ तनहुँको आयोजना र नेपाल मगर संघ व्यास नगर समितिको सहआयोजना दमौलीको खु्ला चौरमा मगर एकता दिवस विशेष कार्यक्रम विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यका दिवस विशेष कार्यक्रमलाई निरन्तरता दिँदै कार्यक्रम गरिएको नेपाल मगर संघ व्यास नगर समितिको सभापति रिमा आले मगरले जानकारी दिइन् ।
मगर दिवसको अवसरमा तनहुँका दस वटै स्थानीय तहले विहिबार सार्वजनिक बिदा दिएका थिए । दिवसको बन्दीपुर बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो । पर्यटकलाई मनोरञ्जन तथा ज्ञान प्रदान होस् भनेर कार्यक्रम गरिएको नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष सिद्धान्त गर्जामगरले बताए । । सांस्कृति कार्यक्रमलाई स्वदेशी तथा विदेशी दुवै पर्यटक रुची रूपमा हेरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
मंगल संघले भिन्नभिन्न भाषा, धर्म र संस्कृति बोकेको मगरलाई एउटै सुत्रमा बाँधी एकताबद्ध गरेको र अग्रजहरुको ऐतिहासिक संघर्ष र उपलब्धिलाई स्मरण गर्दै फागुन १५ लाई उत्सवको रुपमा मनाइँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा रहेका १४२ जातजातिमध्ये कुल जनसंख्याको तेस्रो स्थानमा मगर समुदाय छ । देशको कुल जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ मध्ये मगर समुदायको ६ दशमलव ९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ छ । नेपाल मगर संघ तनहुँका अध्यक्ष खड्गसिंह थापामगर अनुसार तनहुँमा एक लाख सात हजार मगर समुदायको जनसंख्या छ । जुन तनहुँको कुल जनसंख्याको २६ प्रतिशत हो ।