तनहुँ । फागुन १९
व्यास नगरपालिकाले सरसफाई केन्द्र सञ्चालनको लागि जग्गा खरिदको क्रममा आएका अडियो काण्डको छानबिन गर्न नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी कन्द्र व्यास नगर समितिले माग गरेको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रको नगर कमिटिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त अडियो कान्डको छानविन गर्न माग गरेका हुन् ।
नेपाली काँग्रेस व्यास नगर समितिका सभापति सूर्यचन्द्र हड्खलेद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा व्यास नगरपालिकाको उपप्रमुख, जग्गा व्यवस्थापन समितिका संयोजक सहित वडाध्यक्ष ज्यूहरु लगायत जनप्रतिनिधी, तनहुँ उद्योग वाणिज्य संघ र सरोकारवाला लगायत सहभागी भई व्यास नगरपालिका सरसफाई जग्गा व्यवस्थापन समितिको आयोजनामा गरिएको गरिएको पत्रकार सम्मेलनबाट बाहिर आएका आएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
नेपाली काँग्रेसको विज्ञप्तिमा भनिएको छ ‘व्यास नगरपालिकाद्धारा सार्वजानिक हितमा गर्न खोजेको कुरामा अवरो्ध गरिएको भन्ने समाचार प्रति हामी जानकार छौं, हामी नागरिकका हक अधिकार तथा सूशासनका विषयमा जनता सर्वाधिकार सम्पन्न होस् भन्ने कुरा सचेत छौं ।’ कर्मचारी संलग्न भई नगरपालिकालाई नै दुषित र अवरोध खडा गर्ने खोजिएको कुरामा कसरी, किन र केका लागि भन्ने कुरामा तुरुन्त व्यास नगरपालिकाले एक स्वतन्त्र छानबिन समिति गठन गरी व्यास नगरवासीहरुलाई सत्यतथ्य सहितको जानकारी तुरुन्त गर्नु हुन विज्ञप्तिमा अपील गरिएको छ । साथै नगरपालिकाको दिनदिनै सरसफाई व्यवस्थापनको पेचिलो अवस्थालाई अन्त्य गर्न कानुनी मार्ग अपनाउन जनप्रतिनिधी तथा सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
यसैगरि नेकपा एमाले व्यास नगर कमिटिले पनि उक्त अडियो कान्डको यथार्थ छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेको छ । एमाले नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डेले सोमबार विज्ञप्ति प्रकाशिन गरि व्यास नगरपालिकाको बारेमा विगत दुई सातादेखि चलिरहेको चर्चा परिचर्चा प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । सरसफाई व्यवस्थापन जस्तो गम्भिर विषयको लामो समयसम्म व्यवस्थापन नहुनु, हरेक पटक केही गर्न लाएको जस्तो देखिनु तर परिणाम शुन्य हुनु, जग्गा खरिदको विषय स्वार्थ केन्द्रीत हुनु, यस्तो संवेदनशिल विषयमा जनप्रतिनिधि र कर्मचारी विभाजित हुनु गम्भिर विषय भएको भन्दै विज्ञप्तिमा तनहुँको सदरमुकाम दमौलीमा रहेको महर्षी ऋषिको नामबाट स्थापित व्यास नगरपालिका विकासको गतिमा जसरी अगाडी बढ्नुपर्ने हो त्यसरी बढ्न नसकिरहेकोमा नगरवासीहरुको चिन्ता र चासो सधै यथावत रहेको जनाईएको छ ।
‘नगरलाई स्वस्थ र स्वच्छ राख्नु व्यास नगरपालिकाको दायित्व हो । सरसफाई व्यवस्थापनलाई अधुरो राखेर अरु जतिसुकै विकासका काम गरेपनि नगर स्वच्छ र नगरबासी स्वस्थ हुन सक्दैनन् । सबैभन्दा नगरबासीको चासो र सरोकार रहेको सरसफाई व्यवस्थापन यथाशिघ्र गर्नुपर्ने नगरपालिकाको जिम्मेवारी हो ।’ एमालेको विज्ञप्तिमा भनिएको छ ‘यस्तो समयमा समस्या समधानको लागि नगरपालिकाका जनप्रतिनिध, कर्मचारी र राजनितीक दल एक ठाउँमा उभिएर समस्या समधान गर्न लाग्नु पर्नेमा सरसफाई व्यवस्थापन सम्बन्धमा अडियो रेकर्ड मार्फत एक राजनितीक दलका प्रमुख, व्यास नगरपालिकाका केही जिम्मेवार कर्मचारीबाट प्रस्तुत अभिव्यक्ति अत्यन्तै लज्जाजनक, सामाजिक रुपमा अपाच्य भएको हामीले महशुस गरेका छौं । यस्तो अवस्थामा व्यास नगरपालिकाको नेतृत्वले अडियोमा संलग्न कर्मचारीलाई कारवाही गर्ने विषय, जनप्रतिनिधि र कर्मचारी बिचको विभाजन अन्त्य गरी सरसफाई व्यवस्थापनलाई छिटो भन्दा छिटो टुङ्गोमा पु¥याउनु जरुरी देखिन्छ ।’
‘समय समयमा आएका यस्ता भ्रष्ट्राचार लगायत अन्य विकृतिजन्य विषयलाई पनि निराकरण गर्न व्यास नगरपालिका लागोस भन्ने जोडदार माग गर्दछौं । सरसफाई व्यवस्थापनसँग जोडिएको हाल चर्चामा रहेको जग्गा सर्वत्र विवादित र आलोचित भएको हुँदा व्यास नगरपालिकाले यसलाई छोडेर सर्वदलिय संयन्त्रको माध्यमबाट छिटो भन्दा छिटो अर्को विकल्पमा जानका लागि हार्दिक अपील गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ‘नगरपालिकाको गतिविधिलाई नजिकबाट नियालेर सही वा गलत छुट्याउने दायित्व हरेक नगरबासीको हो । नेकपा एमाले व्यास नगर कमिटी आम नगरबासीको प्रतिनिधित्व गर्दै अहिले भईरहेका चर्चा परिचर्चासंग जोडिएको फोहारमैला व्यवस्थापन सम्बन्धी विषयलाई टुलुटुलु हेरेर बस्न नसक्ने निष्कर्षका साथ व्यास नगरपालिकासँग समस्या समधानका लागि जोडदार माग गर्दछौं ।’
यसैगरि नेकपा माओवादी केन्द्र व्यास नगर कमिटिले पनि विज्ञप्ति प्रकाशित गरि फोहोर व्यवस्थापनको लागि जग्गा खरिद गर्ने बारे भईरहेको क्रियाकलापहरुका सन्दर्भमा जनप्रतिनिधिका भनाईहरु, विभिन्न सञ्चार माध्यममा प्रकाशित÷प्रसारित समाचारहरु र सामाजिक सञ्जालहरुमा आइरहेका गतिविधिहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । माओवादी केन्द्र व्यास नगर कमिटिका अध्यक्ष गोपाल सुर्खालीद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधि र कर्मचारी संयन्त्रले एकअर्कालाई दोषारोपण गर्ने काम आफैमा शोभनिय नभएको जनाईएको छ । यसले व्यास नगरपालिका विगत देखिनै भष्ट्राचारको अखडा बनिरहेको कुरा छर्लङ्ग हुन्छ भन्दै व्यास नगरपालिकाको नेतृत्व यस्ता गतिविधिहरुप्रति जानकार छ वा छैन ? नगर प्रमुखको धारणा के हो ? यो विषय प्रष्ट हुन आवश्यक छ । उहाँले देखाउनु भएको मौनताले यस किसिमका अनियमिततालाई सहयोग पु¥याइरहेको त छैन भन्दै आम नगरबासीको चासोको विषय बनेको जनाईएको छ ।
व्यास नगरपालिका भित्र भइरहेका यि निन्दानिय कार्यहरुको निन्दा गर्दै पार्टीको नेतृत्वमा गरिएको भष्ट्राचार विरोधी अभियानलाई साथ दिदै आम जनसमुदायबाट प्रर्दशित जन समर्थनको जगमा व्यास नगरपालिका भित्रको चरम भष्ट्राचार, बेथिति, अनियमितताको गरेको जनाईएको छ । साथै जग्गा खरिद प्रक्रियामा भएको भनिएको दुर्गन्धित आर्थिक लेनदेनको अडियो प्रकरणको सत्य तथ्य सार्वजनिक गर्न माग गर्र्दै विज्ञप्तिमा सिङ्गो नगर बासीको शिर निहुरिएको उक्त घटनाको निष्पक्ष छानबिन र सत्य तथ्य रिपोर्ट सार्वजनिकरणका लागि नगर प्रमुख समक्ष जोडदार माग गरिएको छ ।