देवघाट, फागुन २४
११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (अन्तराष्ट्रिय नारी दिवस) शनिबार देवघाट गाउँपालिकामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । नेपालमा यस वर्ष ‘सबै महिला तथा बालबालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मुल नाराका साथ यो दिवस मनाइएको थियो ।
यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउन थालिएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आह्वानमा संघीय सरकारका सबै निकाय, ७ वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं वडाहरु र नागरिक समाज लगायत सरोकारवालाले विभिन्न कार्यक्रम गरि यो दिवस मनाएका छन् ।
दिवसको अवसरमा देवघाट गाउँपालिकामा र्याली र सभाको आयोजना गरिएको थियो । देवघाट गाउँपालिकाको आयोजना र देवघाट महिला सन्जालको संयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । र्यालीपछि कोणसभा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, अनेमसंघ देवघाटकी अध्यक्ष सावित्री न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।