तनहुँ । फागुन २५
बन्दीपुर गाउँपालिका–२, मा रहेको ऐतिहासिक महत्व बोकेको मुकुन्देश्वरी मन्दिर निर्माणको कार्य भईरहेको छ । उक्त मन्दिरको केही दिन अघि गण्डकी प्रदेशसभा सदस्य एब पूर्व आर्थिक मामिला मन्त्री जितप्रकास आले, गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ लगायतले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
पछिल्लो समय उक्त मन्दिरको पुननिर्माण कार्य धमाधम भईरहेको निर्माण समितिका अध्यक्ष सुकुमलाल गुरुङ्गले बताए । मन्दिर पुननिर्माणकोलागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त ५ लाख, संघीय सरकारको पर्यटन मन्त्रालयबाट प्राप्त १० लाख गरि १५ लाखको लागतमा प्यागोडा शैलिको २ तले मन्दिर निर्माण हुने अध्यक्ष गुरुङले बताए ।
मन्दिरसम्म पुग्नको लागि मुच्चुकबाट ७ सय मिटर सिंढी बाटो निर्माण सम्पन्न भएको छ । जसका लागि पटक पटक गरेर बन्दीपुर गाउँ पालिकाले ३० लाख रुपैयाँ बिनियोजन गरिसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । अध्यक्ष थापाका अुनसार गाउँपालिकाले यसअघि २५ लाख र यस वर्ष ५ लाख गरि ३० लाख लाख बजेट बिनियोजन गरेको र उक्त रकमले मन्दिर नजिकै सम्म पुग्ने सिढि बाटो निर्माण कार्य सम्पन्न भईसकेको छ ।
तत्कालिन समयमा पाल्पाका राजा रुद्र सेनका माइला छोरा मुकुन्द सेनले सन १५७५ मा मुकुन्द सेन दरवारहाता भित्र उनले पूजा आज गर्नका लागि स्थापना गरिएको मुकुन्देश्वर मन्दिर तात्कालिन समयमा निर्माण गरि मन्दिर भित्र स्थापित तरवार लगायतका हात हतिया सहित शिलामा पूजा अर्चना गरेका थिए । सोहि मन्दिरको नजिकै रहेको तात्कालिन भग्नावशेष रहेकै ठाउँमा उक्त मन्दिर पुन निर्माण थालिएको निर्माण समितिका अध्यक्ष सुकुमलाल गुरुङले बताए । उक्त स्थानमा तात्कालिन दरवार, इनार, दुडिखेल, घोडा बाँध्ने ढुङ्गालाई छेडेर बनाइएको तबेला अहिले पनि सोहि स्थानमा रहेको छ ।
साथै उक्त मन्दिर निर्माणका लागि जमिन उठाएर बनाउनु पर्ने भएकाले १ सय १५ वटा जाली लगाएर उठाउँदै काम अगाडी बढाइएको छ । बन्दीपुर गाउँपालिकाले थानीमाई मन्दिर र मुकुन्देखी मन्दिरको डिपिआरका लागि ६ लाख खर्चेको पालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
उक्त मन्दिर निर्माणका लागि बन्दिपुर– ३ रामकोट र बन्दिपुर–२ माथिल्लो खहरे र तल्लो खहरेका जनताहरुले श्रमदान गरिदिएका तथा यहि चैते दशैंमा त्यहाँ ठूलो चैते दशैंभेला लाग्ने भएकाले पनि जति सक्यो छिटो उक्त मन्दिर निर्माण गरिसक्नु पर्ने अवस्था रहेको स्थानिय समाजसेवी रेशम गुरुङले बताए ।