देवघाट । जेठ ४
नेपाल विद्यार्थी संघ तनहुँले पालिका स्तरीय अधिवेशनको थालनी देवघाट गाउँपालिकाको कालिका माध्यमिक विद्यालयबाट गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा ईकाइ गठन तथा नयाँ सदस्यता वितरण कार्य सम्पन्न गरिएको हो।



कार्यक्रमका प्रमुख अतिथि नेविसंघका केन्द्रीय सदस्य सुनिल मिश्रले विद्यार्थीहरूलाई राजनीतिक चेतना र नेतृत्व क्षमतामा सबल बनाउने दिशामा संगठन अघि बढिरहेको बताए । उनले वर्तमान परिप्रेक्ष्यमा विद्यार्थीहरूको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गरे ।

“विद्यार्थी आन्दोलन नेपाली कांग्रेसको मेरुदण्ड हो, संगठन बलियो बनाउन हामी सबै प्रतिबद्ध हुनु आवश्यक छ,” मिश्रले भने । उनले संगठनभित्र अनुशासन, निष्ठा र समर्पणको भावना विकास गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रमको अध्यक्षता पालिका संयोजक तथा जिल्ला सदस्य हरि कुँवरले गरेका थिए । कार्यक्रममा नेविसंघ जिल्ला अध्यक्ष आशिष कैनी, नेपाली कांग्रेस क्षेत्र नं. २ का सहसचिव यम सारु, जिल्ला प्रवक्ता रिमबहादुर आले, भानु नगर संयोजक सुजन थपलिया, नेविसंघ नेता उत्तम लामा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्ने नेताहरूले पालिकास्तरबाट सुरु भएको अधिवेशनलाई जिल्लासम्म लैजाने क्रम व्यवस्थित रूपमा अगाडि बढ्ने जनाएका छन् । उनीहरूले नयाँ पुस्तामा राजनीतिक चेतना र संगठनप्रतिको लगाव अभिवृद्धि गर्न यस्तो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।












