तनहुँ । जेठ १२
तनहुँमा गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाईने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला स्थित गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक शान्तिरमण वाग्लेको अध्यक्षतामा आइतबार बसेको बैठकले विभिन्न कार्यक्रम गरि जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।



गणतन्त्र दिवसको अवसरमा जेठ १४, १५ र १६ गते पत्रकार महासंघको संयोजनमा गणतन्त्र दिवस सम्बन्धी समाचार, गतिविधि र सम्पादकीय प्रकाशन तथा परिसंवाद लगायतका कार्यक्रम गरिने भएको छ । जेठ १४ गते धार्मिक संघ संस्थामा पुजापाठ गर्ने तथा अनसन चौतारी, खेल मैदान र व्यास क्षेत्र परिसरमा सरसफाई कार्यक्रम गर्ने, सोही दिन व्यास नगरपालिकामा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने, जनज्योती मावि भिमादमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई पोशाक वितरण गर्ने र व्यास नगरपालिकामा अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरि गणतन्त्र दिवसको दिन जेठ १५ गते दमौलीमा प्रभातफेरी तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिने भएको छ । त्यस्तै सोही दिन दमौली अस्पतामा फलफुल वितरण, अनसन चौतारीमा नागरिकको स्वास्थ्य परिक्षण र साँझ अनसन चौतारीमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरि जेठ १६ गते निर्मल मावि र डिभिजन वन कार्यालयमा यस अघि रोपिएका विरुवा गोडमेल गर्ने र भानुमा बृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।
गणतन्त्र दिवसको उक्त कार्यक्रम सम्पन्न गर्न जिल्ला समन्वय समितिका प्रमुख वाग्लेको संयोजकत्वमा सबै स्थानीय तहका प्रमुखहरु, जिल्ला न्यायधिश, प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु, सहकारी, शिक्षण संस्था, ट्रेड युनियन, पत्रकार, मावनअधिकार लगायतका संघ संस्थाका प्रमुखहरु सदस्य रहेको मुल समारोह समिति पनि गठन गरिएको छ ।












