तिनकुने घटनामा पक्राउ परेका दमौलीका विष्णु पराजुलीको बयानः ‘दुर्गा प्रसाईको सचिवालयमा काम गरेको हुँ, आगजनी र लुटपाटमा संलग्न छैन’

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १३

काठमाडौंको तिनकुनेमा गत फागुन १५ गते भएको आगजनी, व्यक्तिहत्या, कुटपिट र लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका दमौलीका विष्णु पराजुलीले आफु दुर्गा प्रसाद प्रसाईको सचिवालय सदस्यको रुपमा कार्यरत रहेको बयान दिएका छन् । राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरि अदालतमा मुद्धा दायर गरेका पराजुलीले प्रहरीसँगको बयानमा आफु दुर्गा प्रसाईको सचिवायलको सदस्य रहेको र सोही कारण फागुन १५ गतेको आन्दोलनमा भाग लिन फागुन १४ गते रात्रीबस चढेर काठमाडौं गएको बयान दिएका छन् ।

‘२०७९ साल फागुन १ गते झापाको मेचीपुलमा पुर्व राजा ज्ञानेन्द्रलाई बोलाई दियोमा बत्तीबाली राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ अभियानमा हाम्रो नेपाली पार्टीको (लौरो अभियान) को सदस्यको रुपमा सहभागी भएको र उक्त कार्यक्रम पछि दुर्गा प्रसाईसँग चिनजान भएको हो ।’ पराजुलीले भने ‘विगत चार महिना अघि दुर्गा प्रसाईले मलाई सम्पर्क गरि मेरो राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ अभियान नेपालको सचिवालयमा बसी काम गरिदिनुप¥यो भनी आग्रह गरेको हुँदा म विगत ४ महिना अगाडीदेखी निजले सन्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ अभियान नेपालको कार्यक्रममा सहयोग गर्ने उद्देश्यले निज दुर्गा प्रसाईको नीजि सचिवालय सदस्यको रुपमा काम गर्दै आईरहेको थिएँ । यसरी काम गर्ने क्रममा कहिलेकाँही मात्र काठमाडौं आई निज दुर्गा प्रसाईकै सचिवालय तिनकुनेमा बसी काम गर्ने गरेको थिएँ । प्रायजसो म आफ्नै घर तनहुँबाटै सकेको सहयोग गर्ने गरेको थिएँ ।’

फागुन १५ गते तिनकुनेमा भएको आन्दोलनमा भाग लिन आफु फागुन १४ गते रात्रीबस चढेर तनहुँबाट काठमाडौं गएको र काठमाडौं आईसकेपछि १० बजे बानेश्वर एरियामा गई खाना खाई कार्यक्रम स्थल तिनकुनेमा गएको पराजुलीले प्रहरीसँगको बयानमा बताएका छन् । दुर्गा प्रसाई भक्तपुरबाट कार्यक्रम स्थलमा आईपुग्न लाग्दा प्रहरीले मन्चमा अश्रुग्याँस हानेपछि प्रसाई आक्रोसमा आई आफु चढेर आएको गाडी आफैले चलाई कार्यक्रम स्थलमा नगई रोडमा सुरक्षाकोलागि खटिएका प्रहरीलाई पेल्दै सो ठाउँमा जम्मा भएका आन्दोलनकारीलाई समेत जम्मा गरि बानेश्वर तिर गएको र सुरक्षामा खटिएका प्रहरीले बानेश्वर जान नदिई कार्यक्रम स्थलमा ल्याई छाडेको हुन् । त्यसपछि अश्रुग्याँसको कारण मन्चमा बस्न नसकी दुर्गा प्रसाई कता गए आफुलाई केही जानकारी नभएको पराजुलीले बताएका छन् ।

‘सो समयमा आफु तिनकुनेमा रहेको दुर्गा प्रसाईको सचिवालयमा बसी भए गरेका गतिविधिहरुको टिपोट गरिरहेको थिएँ, पछि सो सचिवालयमा समेत अश्रुग्याँसको धुँवा आई बस्न नसकेको कारण म आफु समेत सो ठाउँबाट भागी पछाडी गल्लीमा गई बसेको हुँ ’ पराजुलीले बयानमा भनेका छन् ‘सो बाहेक आम सर्वसाधरणको सुरक्षार्थ खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतका सुरक्षाकर्मीलाई ढुङ्गा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरि सुरक्षाकर्मीको हतियार समेत खोसी सुरक्षाकर्मीलाई घाइते बनाएको, सर्वसाधरणको घर, सन्चारगृह रहेको भवन, विभिन्न राजनीतिक दलको कार्यालय रहेको भवनमा तोडफोड, आगजनी जस्ता कार्य मैले गरेको छैन । म आफु कार्यक्रममा भाग लिन गएको भएता पनि सचिवालयमा बसी कार्यक्रममो टिपोट गर्ने काम मात्र गर्दै गरेको हुँ ।’
दुर्गा प्रसाईले आफुलाई कार्यक्रममा भाग लिन बोलाउँदाको समयमा कार्यक्रम अत्यन्तै शान्तिपुर्ण हुन्छ, कुनै उच्छृङखल कार्य हुँदैन भन्ने जानकारी गराएको र सोही अनुसार आफु कार्यक्रममा भाग लिन गएको बताएका छन् । उनले भाटभटेनी लुटपाट गर्ने, व्यक्ति, सन्चारगृह तथा राजनीतिक दलको कार्यालयमा भएको आगजनीमा संलग्न भएका कसैलाई पनि आफुले नचिन्ने प्रहरीसँगको बयानमा बताएका छन् । उनले दुर्गा प्रसाईको सचिवालय सदस्यको रुपमा कुनै तलब नलिई सेवा भावले मात्र सहयोग गरेको बताएका छन् ।

प्रहरीले विष्णु पराजुली दुर्गा प्रसाईको सचिवालय सदस्यको रुपमा काम गरेको, दुर्गा प्रसाईले घोषणा गरेको जनबिद्रोह सभामा भाग लिन तनहुँबाट आएको, निजले बोक्ने गरेको डायरी भित्र प्रसाईको अभियानका सदस्यहरुको नाम र सम्पर्क नम्बर समेत लेखिएको र कार्यक्रमको मिति समेत लेखिएको पाईएको हुँदा पराजुली विगतदेखी नै प्रसाईको हरेक क्रियाकलापमा संलग्न भएको, विभिन्न योजनाहरु बनाउने कार्यमा संलग्न भएको, राज्य विरुद्धको अपराध गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आउने दाबी गरेको छ । उनको मोवाईलको भिडियोमा रविन्द्र मिश्र, धवल शमशेर राणाहरुले संसद भवन कब्जा गर्ने घोषणा गरेको र विभिन्न आगजनी गरेको भिडियो पनि भेटिएको दाबी गरेको छ ।

साथै फागुन १५ गते तिनकुनेमा आगजनी भईसकेपछि मुख्य आयोजक दुर्गा प्रसाईलाई कार्यक्रम स्थलबाट भगाउने कार्यकोलागि पराजुलीले आफैले गाडीमा हाली दुर्गा प्रसाईलाई ललितपुर जिल्ला महालक्ष्मीस्थान नगरपालिकामा रहेको आफ्नै घरमा लगी दुर्गा प्रसाईलाई गाडीमा हाली भगाउने कार्यमा प्रतक्ष्य संलग्न रहेको आरोप लगाएको छ । पराजुलीले एटिएफ, पिडिएफ, आरटिएफ, शाही युवा शक्ति नेपाल समेतसँग मिलेमतो गरि तोडफोड, आगजनी जस्ता कार्य गरि संबैधानिक संरचना पल्टाउने उद्देश्य र मनशाय राखेको आरोप लगाउँदै पराजुलीलाई राज्य विरुद्धको कसुर, अपराधिक उपद्रब, संगठित अपराध र एकिकृत कसुर गरि चार वटा मुद्धा लगाएको छ ।

लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय