देवघाट । जेठ १८
देवघाट गाउँपालिका–५ को ठिमुराको पुलबाट वडा नम्बर ५ को कार्यालय घिनाटारसम्म जोड्ने सडक सम्झौतामा उल्लेखित अवधिभन्दा करिब एक महिना अघि नै कालोपत्रे सम्पन्न भएको छ । निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधि भन्दा एक महिना अघि नै उक्त सडकमा कालोपत्रे पुरा गरेको हो ।




सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार ७३० मिटिर लम्बाईको उक्त सडक कालोपत्रे गर्ने प्रयोजनको लागि दक्ष इन्जिनियिरिङ चितवनसँग २०८१ कार्तिक २७ गते ठेक्का सम्झौता भएको थियो । निर्माण सम्झौता अनुसार सो सडक कालोपत्रे गर्ने अन्तिम मिति २०८२ असार २० गते सम्म रहेकोमा निर्माण कम्पनीले जेठ १८ गते कालोपत्रे पुरा गरेको इन्जिनियर घिमिरेले जानकारी दिए । सो सडकसँगै पक्की नाला पनि निर्माण गरिएको छ ।

सडक डिभिजन कार्यालय चितवन मार्फत उक्त कालोपत्रे गरिएको हो । कुल ७३० मिटर पक्की नाला मध्ये ४ सय मिटर सडक डिभिजन चितवन मार्फत र बाँकी ३३० मिटर शहरी विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार कार्यालय पोखरा मार्फत निर्माण गरिएको इन्जिनियर घिमिरेले बताए । उक्त सडक कालोपत्रेको लागि १ करोड ५६ लाख लागत इष्टमेट भएपनि ठेक्का प्रक्रिया मार्फत निर्माण कम्पनीले १ करोड ७ लाख ६५ हजारमा निर्माण गरेको थियो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले ठिमुराको पुल उद्घाटन गर्ने क्रममा राष्ट्रपती रामचन्द्र पौडेलले उक्त सडक कालोपत्रे गर्न बजेट पार्ने प्रतिबद्धता जनाएको र सोही अनुसार बजेट बिनियोजन भएको बताए । ‘यो सडक कालोपत्रे हुनुमा राष्ट्रपती रामचन्द्र पौडेल र राष्ट्रपतीसँगै पुल उद्घाटनमा आउनु भएका भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठको मुख्य हात छ’ अध्यक्ष थापाले भने ‘उहाँहरुले प्रतिबद्धता जनाए अनुसार नै बजेट बिनियोजन भएर काम सम्पन्न भएको छ ।’ यसले देवघाटका हजारौं जनता लाभान्वित भएको अध्यक्ष थापाले बताए ।

निर्धारित मिति अघि नै कालोपत्रे सम्पन्न हुनुमा सडक डिभिजन कार्यालय चितवनको ठुलो सहयोग रहेको अध्यक्ष थापाले बताए । कालोपत्रेको क्रममा गाउँपालिकाले पनि निरन्तर अनुगमन गरेको अध्यक्ष थापाले बताए ।












