दमौलीमा मनाईयो विभेद र जातीय छुवाछुत उन्मुलन दिवस

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २१

समाजमा रहेको जातीय विभेद र छुवाछुतको पूर्ण अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण गर्न नसकिनेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सबै किसिमका विभेद र जातीय छुवाछुत उन्मुलन दिवसको अवसरमा बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँद्वारा दमौलीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जातीय विभेद र छुवाछुत नै समाज विकासको मुख्य बाधक भएको बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले जातीय समानताको नारा दलित मात्रले नभई गैर दलित समुदायले समेत लगाउन सके समाजमा जातीय विभेद र छुवाछुत अन्त्य सम्भव भएको बताए । संविधानबाट जातीय छुवाछुत र विभेद हटेपनि समाजमा अझै छुवाछुत कायम रहेकोले त्यसको अन्त्यको लागि सबै जातजातिको समान पहल र योगदान आवश्यक रहेको समेत राष्ट्रिय सभा सदस्य परियारले बताए । मुलुकमा रहेका तीन वटै तहका सरकारले चाहे मुलुकमा दलितमाथि हुने जातीय विभेद अन्त्य हुन सक्ने समेत उनको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्लेले दलितमाथिको विभेद अवको समाजमा स्विकार्य नहुने बताए । दलितको समस्यालाई समाजको सबै समुदायले आफ्नो ठान्न सके जातीय विभेद र छुवाछुत अन्त्य हुने समेत उनले बताए ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, गण्डकी प्रदेश पुर्व सभा सदस्य सरीता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख राजु विक, भानु नगरपालिकाका उपप्रमुख उमा गोतामे, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, एमाले प्रदेश सल्लाहकार परिषद् सदस्य मोहनकुमार विक, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व वास्तोला, नेकपा माओवादी तनहुँका अध्यक्ष सूर्य गौली, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नविन विक, दलित मुक्तिमोर्चा केन्द्रिय सदस्य डिलबहादुर नेपाली, नेपाल दलित संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशबहादुर सुनार, माओवादी केन्द्र व्यास नगर अध्यक्ष गोपाल सुर्खाली लगायतले दलितको सिप विकासको अलावा छुवाछुत र जातीय विभेद अन्त्य गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी बजेट तर्जुमा गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम संचालन हुनु पहिले सयौं दलित समुदायका मानिस भेला भई पञ्चेबाजामा नाचगान गरी दमौली बजार परिक्रमा गरेका थिए । अनसन चौताराबाट भेटेरेनरी अस्पताल, प्रहरी कार्यालय, व्यास नगरपालिका भवन र सफा सडक हुँदै जिल्ला सभा हल दमौलीमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा जातीय विभेद र छुवाछुत विरुद्धको कविता, गीत वाचन गरिएको थियो । कार्यक्रममा सहभागी हुन तनहुँको १० वटै पालिकाबाट दलित समुदायका मानिसहरु सहभागी भएका थिए ।

आँबुखैरेनी गाउँपालिकाको कार्यालयले समेत आफ्नै पालिकामा कार्यक्रम गरी दिवस मनाएको जनाएको छ । जातीय विभेद र छुवाछुत अन्त्यको लागि जिल्लामा रहेका दलितहरु विगतदेखि नै संगठित रहँदै आएको संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँका अध्यक्ष तथा पूर्व मन्त्री डोवाटे विकले बताए । जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्न सबैको साथ र सहयोग अपरिहार्य रहेको समेत मन्त्री विकले बताए ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँका सचिव तथा एमाले तनहुँका युवा नेता शालिकराज गहतराजले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय