मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा पहिलो चरणको कालोपत्र सकियो

Devghat Online

शेयर गरौ

तनहुँ । असार ८

पृथ्वी राजमार्गको आँबुखैरेनी–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा पहिलो चरणको कालोपत्रको काम सकिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म ४१.११ किलोमिटर लामो पूर्वी खण्डमा पहिलो चरणको कालोपत्र पुरा भएको हो ।

सडक आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेका अनुसार एकतर्फी शनिबार राति सकिएसँगै पूर्वी खण्ड कालोपत्र पिचले छोपिएको छ । दोस्रो चरणको कालोपत्र पनि सँगसँगै भैरहेको भन्दै इन्जिनियर पाण्डेले यही हप्ता नै दोस्रो चरणको कालोपत्र पनि सकिने जानकारी दिए । दोश्रा चरणको कालोपत्र भने हालसम्म ३९.५ किमि भएको छ ।

मादी नदीको पुलको एप्रोच बाहेक मूल सडक कालोपत्र भएको उनले बताए । सहायक सडक जाने पहुँच मार्गहरूमा काम भइरहेको समेत उनले बताए । चालु आर्थिक वर्षभित्र नै पूर्वीखण्डको मूल सडक पिच गर्ने लक्ष्य अनुरूप काम सकिने उनले बताए ।

default

पूर्वी खण्डको तेस्रोपटक थपिएको म्याद यही २९ असारसम्म छ । सो म्यादभित्र सडक विस्तारको काम सकेर सडक सुरक्षाका बाँकी कामहरू गरिने इन्जिनियर पाण्डेले बताए । अव पहुँच सडक कालोपत्र, ट्राफिक सिग्नल, मार्किङ लागतयका केही काम बाँकी रहेको पाण्डेले बताए । ति सबै काम असार २९ सम्म पुरा हुने उनले बताए ।

सडक कालोपत्र भएसँगै पर्यटकीय नगरी पोखरा जान-आउन यात्रुलाई निकै सहज भएको छ । पूर्वी खण्डमा निर्माणधीन मादी नदी बाहेकका १७ वटा पुलहरू सबै तयार भइसकेका छन् । चालु आर्थिक वर्ष लागेसँगै तीव्र गतिमा सडक विस्तारको काम थालिएको सडक आयोजनाका इन्जिनियर पाण्डेले बताए ।

तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ । हालसम्म सो पुलको ७१ प्रतिशतभन्दा माथि काम भैसकेको छ । पुलको फाउन्डेसनको काम सकिएको छ । ६ वटा स्लाप मध्ये ४ वटा यो सकिएको पाण्डेले बताए ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेनको सडकलाई चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार भइरहेको छ ।

२०८१ वैशाखसम्म काम सक्ने लक्ष्य राखेर चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो । तर, तोकिएको समय अवधिमा काम सम्पन्न नभएपछि तेस्रोपटक म्याद थप गरी कामलाई निरन्तरता दिइएको छ ।

त्यस्तै, आयोजनाको पश्चिमी खण्ड जामुने–पोखरा सडक विस्तारका लागि ३ जेठ २०७८ जेठमा चीनकै एनहुई केयुयन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा (सेती पुल बाहेक) ठेक्का सम्झौता गरेको थियो । ३८.८८ किलोमिटर दुरी रहेको पश्चिमी खण्डको ५३ प्रतिशत भौतिक प्रगति भएको पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार ४ लेन तथा ६ लेनको यो सडकको ३६.८ किलोमिटर सडक एकातर्फ कालोपत्र भइसकेको छ । यस्तै, २६ किलोमिटर सडक चार लेनमा पहिलो चरणको कालोपत्र सकिएको छ । पहिलो चरणको कालोपत्र गर्न अब १७ सय मिटर जति बाँकी रहेको आयोजना प्रमुख कुँवरले बताए ।

पश्चिम खण्डमा दोस्रो चरणको कालोपत्र भने सुरु भएको छैन । अर्को आर्थिक वर्ष लागेपछि दोस्रो चरणको कालोपत्र सुरु गरिने कुँवरले जानकारी दिए । पश्चिम खण्डका १२ पुल मध्ये १० वटा पुल बनिसकेका छन् । एक पुल तयारी अवस्थामा छ । विजयपुर खोलाको पुल र सेती नदी माथिको सिग्चेर पुल अर्को वर्षसम्म बन्ने आयोजना प्रमुख कुँवरले जानकारी दिए । सेती नदी माथिको पुलको ५० प्रतिशत काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सञ्चारमाध्यममा सरकारको आर्थिक नाकाबन्दीविरुद्ध पत्रकार महासंघ आन्दोलित

तनहुँ । चैत २८ नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध संघीय संसद्मा