तनहुँ । साउन ४
जिल्ला प्रशासन कार्यालय तनहुँले विपद्का घटनाबाट जोगिन सचेत रहन अनुरोध गरेको छ । भारी वर्षाको सम्भावना रहेकाले भुक्षय, बाढी, पहिरो, डुबान लगायतका जोखिम रहने भन्दै सचेत हुन आग्रह गरेको हो ।



‘सेती, मस्र्याङदी, त्रिशुली, कालीगण्डकी नदी लगायत जिल्लाका स्थानीय खोलामा पनि पानीको सतह बढेर जनधनको क्षति हुनसक्ने भएकोले नदी तथा खोला आसपास तटीय क्षेत्रका वासिन्दाहरु सतर्क रहनुहुन साथै पृथ्वी राजमार्ग, डुम्रे वेशीसहर सडक खण्ड लगायत स्थानीय ग्रामिण सडकमा सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउनुहुन अनुरोध गरिन्छ’, प्रशासनले आइतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

रातको समयमा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न सुझाइएको छ । ‘गर्नै परेमा नजिकको ट्राफिक प्रहरी र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्नुहुन सर्वसाधारण र सरोकारवाला निकायहरुमा अनुरोध छ’, प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

गए रातीदेखि परेको बर्षाले तनहुँमा धनजनको क्षति भएको छैन । कास्कीमा भारी बर्षा हुदाँ सेती नदीमा भने वहाब निकै बढेको थियो । त्यसैको प्रभावले शुक्लागण्डकी नगरपालिका–२ र ४ लाई जोड्ने सेती नदीको पुलमा सवारी वारपार गर्न नसकेपछि केही घण्टा तनहुँको ढोरफिर्दी, राईपुर, फिरफिरेसँगै स्याङजाको मग्यामचिसापानी, विरुवा, सालडाँडा, कोल्मा लगायतका क्षेत्रसँग यातायात विच्छेद भएको थियो । पछि निर्माणाधिन दुलेगौंडाको हेल्थपोष्टचोकदेखि पुल्चोकसम्मको सडक खुलाएर सवारी सञ्चालन गरिएको थियो ।











