देवघाट । साउन १९
हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम स्नानको लागि देवघाटमा हजारौं भक्तजन आएका छन् । बोलवम मेला साउनको प्रत्येक सोमबार हुनेछ । यस वर्ष साउन महिनामा ४ वटा सोमबार परेको हुँदा उक्त चारै दिन हजारौ भक्तजन मेला भर्न आउने अपेक्षा गरिएको छ । यस अघिका दुई वटा सोमबार पनि हजारौं भक्तजनले बोलवम स्नान र मेलामा सहभागी भएका थिए ।



तेश्रोे सोमबार पनि बोलवम स्नानको लागि हजारौं भक्तजन देवघाट आएका थिए । देवघाटको बेणी संगम र शिवालयहरुमा भक्तजनहरुको घुँइचो लागेको थियो । त्यसबाहेक साउनका अन्य बारमा पनि देवघाटमा दैनिक हजारौंको संख्यामा भक्तजन आउने छन् ।
चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट हजारौं भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए ।
साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । देवघाट क्षेत्र विकास समितिले यसवर्ष बोलवम मेलामा आउने भक्तजनको तथ्यांक राख्ने भएको छ । यसअघि बोलवम स्नान गर्न आउने भक्तजनको भिड हेरेर अनुमानको आधारमा यति संख्यामा भक्तजनको उपस्थिति रह्यो भन्ने तथ्यांक सार्वजानिक गर्ने गरिएकोमा यसवर्ष भने कर्मचारी परिचालन गरि स्नान गर्ने भक्तजनहरुको तथ्यांक संकलन गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।
यसले गर्दा देवघाटको धार्मिक महत्वको प्रचार प्रसार गर्न सहयोग पुग्ने र भविष्यको योजना बनाउदा सहयोग पुग्ने उनले बताए । साउनमा त्रिशुली र कालिगन्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए ।












