घिरिङ गाउँपालिकाको आधारभुत अस्पताल निर्माणको लागि बजेटको व्यवस्थापन गर्न मन्त्री पौडेलको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १०

घिरिङ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले घरिङसुन्धारा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शैयाको आधारभूत अस्पताल निर्माण गर्नको लागि बजेट व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल समक्ष माग गरेका छन् ।

मंगलबार घिरिङ गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै जनप्रतिनिधि तथा कर्मचारीहरुले आधारभुत अस्पताल निर्माणकोलागि बजेट बजेट व्यवस्थापन गर्न माग गरेका हुन् । आधारभुत अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापन तथा आवश्यक प्रक्रिया पुरा भई सकेको हुँदा बजेट व्यवस्थापन गरिदिन कर्मचारीहरुले मन्त्री पौडेल समक्ष माग गरेका हुन् । यससँगै कर्मचारीहरुले मन्त्री पौडेल समक्ष समग्र घिरिङको स्वास्थ्य अवस्था सुधारकोलागि विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन् । उक्त ध्यानाकर्षण पत्र गाउँपालिकाकी कार्यवहाक अध्यक्ष राधादेवी अधिकारीले मन्त्री पौडेललाई हस्तान्तरण गरेकी थिइन् ।

स्वास्थ्य चौकी नभएका हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीति अनुसार घिरिङ गाउँपालिकाको वडा नम्बर १ र ४ मा २०७७ साल देखि आधारभूत स्वास्थ्य सेवा केन्द्र सन्चालनमा रहेको भन्दै ध्यानाकर्षण पत्रमा जसमा पहिलो वर्ष संघीय सर्शत अनुदान प्राप्त भएता पनि संघीय सरकारले आधारभूत स्वास्थ्य सेवा केन्दको दरबन्दी स्वीकृत नगरेको हुँदा स्थानीय सरकारलाई भार थपिएको जनाईएको छ । एकातिर दरबन्दी बेगर कर्मचारी नराख्न भनी महालेखापरीक्षकको प्रतिवेदनले प्रत्येक वर्ष उल्लेख गरेको र जसले गर्दा बेरुजु रकम बढ्दो छ भने अर्कोतिर दरबन्दी स्वीकृत नहुँदा न्युन कर्मचारी राखेर सेवा प्रदान गर्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नमा समस्या परेको जनाईएको छ ।

साथै स्वास्थ्य सेवा ऐन २०५३ तथा स्वास्थ्य सेवा नियमावली २०५५ मा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुको तहवृद्धि स्वास्थ्य सेवा विभागले गर्दै आएकोमा, हाल स्थानीय सेवा गठन तथा संचालन ऐन २०७९ अनुसार तहवृद्धि गर्ने व्यवस्था भएको तर यसरी तहवृद्धि भएका कर्मचारीहरुको राष्ट्रिय किताबखानाले दर्ता नगरेको हुँदा दर्ता गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८१ चैत्र १५ गतेको निर्णयानुसार प्रकाशित सुचनामा; निवृत्तभरण पाउने कर्मचारीबाहेकका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रुपमा सूचिकृत गरी निजहरुले खाईपाई गरेको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत रोजगारकर्ताबाट र ११ प्रतिशत योगदानकर्ताको तर्फबाट जम्मा गर्नुपर्ने उल्लेख हुँदा करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउन आवश्यक समन्वय, सहजीकरण तथा परिपत्र गरिदिन मन्त्री पौडेलको ध्यानाकर्षण गरिएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए । घिरिङमा ३ स्वास्थ्य चौकी, २ आधारभूत स्वास्थ्य सेवा केन्द्र र ३ सामुदायिक स्वास्थ्य इकाई गरी ८ स्वास्थ्य संस्थामा १५ स्थायी दरबन्दी र १२ जना करार सेवामा गरी २८ स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् ।

साथै लामो समय देखि कृष्ण मोटरमार्ग र श्रृङपथको अदालतमा मुद्दा रहेको कारणले बजेट विनियोजन तथा कार्यान्वयन हुन नसकेको जसले गर्दा यस क्षेत्रका नागरिक विशेषगरी अत्यावश्यक स्वास्थ्य सेवा लिनका लागी सडकको अवस्थाले गर्दा असहज भएको हुँदा यथाशीघ्र मुद्दा फैसलाको लागि पहल गर्न पनि मन्त्री पौडेल समक्ष अनुरोध गरिएको छ ।

उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले घिरिङमा आधारभुत अस्पताल निर्माणकोलागि बजेट व्यवस्थापनकोलागि पहल गर्ने प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रममा गन्डकी प्रदेश सभाका सांसद जितप्रकाश आले, गाउँपालिकाकी कार्यवहाक अध्यक्ष राधादेवी अधिकारी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, निवर्तमान अध्यक्ष रनबहादुर राना, विभिन्न वडाका अध्यक्षहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले गाउँपालिकाको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड