काठमाडौं । भदौ २०
सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ ।



सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् ।
यी प्लेटफर्महरू बन्द हुने छैनन् । नेपालमा यी प्लेटफर्महरू सञ्चालन हुनेछन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।
बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमशस् बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्नेगरी रोक लगाउन लागिएको हो ।
त्यस्त, बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनस् खोलिने पनि सरकारले जनाएको छ ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
उक्त म्याद गएरातिबाट सकिएको थियो ।
सरकारले उक्त निर्णयलाई बेवास्ता गरिएपछि आज सञ्चार मन्त्रालयले पुनस् मन्त्रीस्तरीय निर्णय गर्दै नेपालभर सूचीकृत नभएका सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार नेपालमा प्रयोगमा आएका सञ्जालहरूमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो सूचीमा राखेका र फेला पारेका सञ्जालहरूमाथि आज निर्णय भएको हो ।
‘यदी यस्ता सूचीकृत नभएका अन्य सञ्जालहरू फेला पर्नासाथ उनीहरूमाथि पनि यही प्रक्रिया लागू हुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने ।
सूचीकृत भएका पाँच सञ्जाल, जुन निरन्तर चल्नेछन् – –टिकटक, भाइबर, निम्बज, वीटक, ओपोलाइभ
सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्- फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर, लिंक इड, स्न्याप चयाट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल, हाम्रो पात्रो ।












