तनहुँ । कार्तिक १८
भानु नपा–९ स्थित काउरेटार खेलमैदानमा निर्माण गरिने बहुउद्देश्सीय कभर्डहल निर्माणका सम्बन्धमा सरोकारवालाहरुको बैठक मंगलबार सम्पन्न भएको छ । उक्त कभर्डहल निर्माणको लागि संघीय सरकारले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बिनियोजन गरेको छ ।



राष्ट्रिय खेलकुद परिषद मार्फत् कार्यान्वयन हुने उक्त योजनाका लागि स्थानीय तहले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर पेश गर्नुपर्ने हुन्छ । सोही डिपिआर निर्माण प्रयोजनका लागि सरोकारवालाहरुको बैठक आयोजना गरिएको थियो ।
भानु नपा वडा नम्बर ९ का वडाध्यक्ष मीन बहादुर गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा भानु नगरपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख उपसचिव ध्रुवराज पौडेल, भानु नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष इश्वरबहादुर घिमिरे, भानु नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष एवं वडा नम्बर ३ का वडाध्यक्ष तुलकुमार गुरुङ, भानु ९ का वडासदस्य कृष्णराज धमनिया, भानु ७ का वडा सदस्य चिजकुमार श्रेष्ठ, शिक्षकहरु महेन्द्र थापा, रिदय भट्ट, दिपक थापा, लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा केन्द्रको परिपत्र तथा विषयवस्तु, डिपिआर एवं कभर्डहल निर्माण प्रक्रियाका सम्बन्धमा भानुका नगर शिक्षा अधिकारी एवं उपसचिव पौडेलले सहजीकरण गरेका थिए । सो बैठकले काउरेटार कभर्डहल निर्माणका लागि डिपिआर निर्माण प्रक्रिया तत्काल अघि बढाउने, कभर्डहल निर्माण गर्दा बहुउद्देशीय प्रकृतिको बनाउने जसमा फूटबल बाहेक प्रायः सबै इन्डोर खेल भलिबल, बास्केटबल, व्याडमिन्टन, फुटसल, मार्सलआर्ट तर्फका खेलहरु तेक्वान्दो, उसु, कराँते, बक्सिङ लगायतका खेलहरुका लागि प्रशिक्षण स्थल र खेल्ने एरेना लगायतको संरचना निर्माणका साथै दर्शकहरुका लागि प्याराफिट समेत हुनेगरी आधुनिक कभर्डहल निर्माणका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसैगरी कभर्डहलको अतिरिक्त ट्रयाक सहितको फुटबल मैदान, प्याराफिट, कार्यक्रम सञ्चालनका लागि व्यवस्थित मञ्च, खानेपानी र शौचालय, कम्पाउण्डिङ तथा खेलमैदान सम्मको पहुँच सडक निर्माणका लागि पञ्चवर्षीय योजना स्वीकृतिका लागि अनुरोध गर्ने समेत निर्णय गरेको छ । उक्त सबै संरचना निर्माणका लागि अनुमानित लागत १५ देखि २० करोडसम्मको हुनसक्ने अनुमान गरिएको छ ।
हाल काउरेटार खेलमैदान जिल्ला खेलकुद विकास समितिको नाममा दर्ता भएको र अन्य सार्वजनिक जग्गा (स्थानीय सर्वदलीय समितिबाट खेलमैदानका लागि भोगाधिकार दिने गरी निर्णय भएको) गरी करीब ४० रोपनी जग्गा रहेको छ । यो जग्गा प्रस्तावित खेल संरचना निर्माणका लागि पर्याप्त देखिने पनि बैठकमा जानकारी गराईउको थियो । प्रस्तावित सबै खेल संरचना निर्माण गर्न सकेमा भानु नगरपालिकामा एउटा व्यवस्थित खेलस्थल बन्नुका साथै भानुले कुनैपनि नगर, जिल्ला, प्रदेश वा राष्ट्रिय स्तरको खेल खेलाउन सक्ने नगर शिक्षा अधिकारी पौडेलले जानकारी दिए ।












