तनहुँ । कार्तिक २३
तनहुँका एमाले नेताहरुले अझै पार्टीको अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । मंसिर २७ देखी २९ गतेसम्म एमालेको एघारौं महाधिवेशन हुने तय भएसँगै भावि नेतृत्वको पनि बहस सुरु भएको अवस्थामा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले अहिले अध्यक्ष ओलीको विकल्प नभएको बताएका हुन् ।



स्थायी कमिटि सदस्य एवं गन्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपानेले पार्टीको अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताए ।
शुक्रबार नेकपा एमाले तनहुँ जिल्ला कमिटिको सातौं पुर्ण बैठकलाई सम्बोधन गर्दै नेताहरुले अवको महाधिवेशनबाट पुनः केपी शर्मा ओलीको नेतृत्व आउने दावी गरे । केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज सिग्देलले देशी बिदेशी शक्तिहरुले अध्यक्षबाट ओलीलाई विस्थापित गर्ने षड्यन्त्र गरेको भन्दै जिल्लाबाट छानिने महाधिवेशन प्रतिनिधिहरु पनि ओलीलाई नै अध्यक्ष बनाउनेहरु नै छनौट गर्नुपर्ने बताए ।
एमालेलाई कमजोर नपारेसम्म नेपालमा अराजकता र अस्थिरता पैदा गर्न नसकिने भएपछि जेन जी आन्दोलनको नाममा देशी बिदेशी प्रतिक्रियाबादीहरुले देश र एमालेको नेतृत्वको सरकार तथा एमालेको नेतृत्व विरुद्ध ठुलो षड्यन्त्र गरेको स्थायी कमिटि सदस्य गुरुङले बताए । उनले ति सबै षड्यन्त्रलाई चिर्दै एमाले पुनः देशको सबैभन्दा भरपर्दाे शक्ति भएर आउनु पर्ने उनले बताए ।
केन्द्रीय सदस्य मात्र नभएर एमालेको जिल्ला पदाधिकारीहरुले पनि पुनः ओलीलाई अध्यक्ष बनाउनु पर्ने बताएका छन् । अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी र उपसचिवद्वय खिम कुमाल र सुनीता नेपाली तथा १० वटै पालिकाका अध्यक्षहरु पनि ओलीलाई नै पुनः अध्यक्ष बनाउनुपर्ने लाइनमा रहेका छन् ।
एमाले तनहुँले एघारौं महाधिवेशनको लागि मंसिर १३ गते क्षेत्र नम्बर १ को डुम्रे, क्षेत्र नम्बर २ को खैरेनीटार र दलित सदस्यहरुको लागि पार्टी कार्यालय दमौलीमा स्थान तोक्ने निर्णय गरेको छ । महाधिवेशन प्रतिनिधि मध्ये जिल्लाका सम्पुर्ण दलित सदस्यहरु मध्येबाट एक जना, क्षेत्र नम्बर १ बाट २ खुल्ला, २ महिला र १ जना ४० वर्ष मुनिका युवा गरि पाँच जना र क्षेत्र नम्बर २ बाट ३ खुल्ला, २ महिला र १ जना ४० वर्ष मुनिका युवा मध्येबाट १ जना गरि ६ जना प्रतिनिधि रहनेछन् ।












