मंगलबार एमालेको पालिका स्तरीय प्रदर्शनः तनहुँका दशवटै पालिकामा र्याली र सभा हुने

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २४

नेकपा (एमाले) ले मंगलबार देशभरका पालिकाहरुमा जनसभा गर्ने भएको छ । केन्द्रीय कमिटीको निर्णय अनुसार आज एमालेले देशभरका पालिकाहरुमा जन प्रदर्शन गर्न लागेको हो । तनहुँका दश वटै पालिकामा मंगलबार एमालेले प्रदर्शन गर्ने एमाले तनहुँका अध्यक्ष हरिराज कडेंलले जानकारी दिए ।

प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जनप्रदर्शन हुने कडेलले बताए । प्रदर्शनमा व्यापक जनसहभागिता गराउन विभिन्न नेताहरुलाई समन्वयकर्ताको जिम्मेवारी प्रदान गरिएको छ । एमाले तनहुँको हालै सम्पन्न बैठकले केन्द्र र प्रदेशका नेता तथा जिल्ला कमिटिका पदाधिकारीहरुलाई पालिकाको जनप्रदर्शनको समन्वय गर्ने जिम्मेबारी दिएको हो ।

जस अनुसार देवघाटमा प्रतापलाल श्रेष्ठ र प्रेम राना, आबुँखैरेनीमा भगवती न्यौपाने र रामबहादुर गुरुङ, बन्दीपुरमा एकबहादुर राना र देवु विष्ट, भानुमा सविता रसाईली, हरिराज कडेंल र बाबुराम सुनार, व्यासमा नरेन्द्रराज वाग्ले, मनुमाया श्रेष्ठ र प्रदिपराज अधिकारी तोकिएका छन् । यसैगरि म्याग्देमा दधिराज सुवेदी, रत्ना घिमिरे र सुनिता नेपाली, शुक्लागन्डकीमा श्रीप्रसाद श्रेष्ठ, कमल ढकाल र खिम कुमाल, भिमादमा केदार सिग्देल, ऋषिङमा शेषमणी आचार्य, होमबहादुर थापा र राजेश्वर ढकाल र घिरिङमा टुकराज सिग्देल र श्यामराजा महतलाई जिम्मेबारी दिईएको छ ।

जन प्रदर्शनमा नाराहरु पनि तय गरिएको छ । नेकपा (एमाले) जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, हत्या, हिंसा, आतंक बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, शान्ति सुरक्षाको प्रत्याभूति गर, भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबिन गर, सामाजिक सद्भाव कायम गरौं, संविधानको रक्षा गर, कानुनी राज्यको प्रत्याभूति गर, वीर सहिद अमर रहुन्, प्रतिनिधि सभा पुनः स्थापना गर भन्ने नारा प्रदर्शनका क्रममा लगाइने तय भएको अध्यक्ष कडेंलले जानकारी दिए । यही नारा लगाएर शान्तिपूर्ण जनप्रदर्शनमा उत्रन उनले पार्टीका नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू