देवघाट । मंसिर ४
ट्युनिसियामा सम्पन्न जेसिआई वल्र्ड कंग्रेस २०२५ मा देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकाल उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी नेतृत्व तथा वार्षिक उपलब्धिहरूको आधारमा स्टार लोकल प्रेसिडेन्टको उपाधिले सम्मानित भएका छन् ।



ढकालले अध्यक्षका रूपमा निर्वाह गरेको कार्यकालमा युवा नेतृत्व विकास, सामुदायिक सेवा, स्थानीय पहिचान प्रवद्र्धन, सदस्य सहभागिता तथा प्रभावकारी परियोजना व्यवस्थापनका क्षेत्रहरूमा देखाउनुभएको सक्रियता र परिणामलाई विश्वव्यापी जेसीआई संरचनाले उच्च मूल्यांकन गरेको बताइएको छ ।
युवाहरूलाई अवसर, सीप र नेतृत्वको प्लेटफर्म निर्माण गर्ने उद्यममा उनले प्रस्तुत गरेको दृष्टि तथा निरन्तरता संस्थाभित्र प्रेरक मोडेलका रूपमा हेरिएको छ । यो उपलब्धिले देवघाटधाम जेसीजको कार्यक्षेत्रलाई अन्तर्राष्ट्रिय समुदायमा प्रतिनिधित्व गर्दै, नेपाल जेसीजको प्रतिष्ठा अझ उचाइमा पु¥याएको ढकालले बताए । साथै, नेपालबाट स्थानीय अध्यक्षस्तरमै यस्तो मान्यता हासिल हुनु देशभरका जेसीआई सदस्यहरूका लागि उत्साह र गर्वको विषय बनेको ढकालले बताए ।
देवघाटधाम जेसिजका पदाधिकारी तथा सदस्यहरूले अध्यक्ष ढकाललाई बधाई ज्ञापन गर्दै, उनले स्थापित गरेको सकारात्मक दृष्टिकोण, सहकार्य–केन्द्रित नेतृत्व र क्रियाशीलताको निरन्तरता भविष्यमा संगठनलाई अझ सक्षम, उत्तरदायी र प्रभावकारी दिशातिर अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।












