विष्णु मगर । देवघाट, मंसिर १८
देवघाट गाउँपालिका–५ पिपलटारमा निर्माणाधिन भर्जनकालिका मन्दिरमा विहिबार धान्यपुर्णिमाको अवसरमा ७८ औं वार्षिक पन्चवली पुजा धुमधामका साथ मनाईयो । उक्त मन्दिरमा बि.स.२००६ देखी मंसिर धान्यपुर्णिमाको दिन हुँदै आएको छ । जिर्ण अवस्थामा रहेको पुरानो मन्दिर भएको स्थानमा अहिले आकर्षक मन्दिर निर्माण गरिएको छ ।




विहिबार पन्चवलीका साथ धुमधामका साथ पुजा सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए । देवघाटका दानबिर, सर्वसाधरण तथा भक्तजनहरुले दिएको पैसाले मन्दिरको पुननिर्माण गरिएको न्यौपानेले बताए । मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उनले अव फागुन महिना भित्र मन्दिरको उद्घाटन गर्ने योजना रहेको बताए ।

पन्चवली पुजामा स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुँद प्रतियोगिताहरु पनि गरिएको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष न्यौपानेले निर्माण समितिका पदाधिकारीहरुको अथक मेहनेत र खटाईको कारण कलात्मक मन्दिरको निर्माण गर्न सकिएको बताए । देवघाटलाई पर्यटकिय स्थल बनाउन र धार्मिक भित्र्याउनको लागि यस मन्दिरले महत्वपूर्ण भुमिका खेल्ने न्यौपानेले बताए ।

देवघाटका प्राय संरचनाहरु पक्की र व्यवस्थित हुँदै गएपनि निकै पुरानो यस मन्दिर जिर्ण अवस्थामा रहेको हुँदा स्थानीय बासिन्दा र संघ संस्थाको सहयोगमा पक्की संरचना निर्माण गरिएको अध्यक्ष न्यौपानेले बताए । उक्त मन्दिर देवघाटको पुरानो र ऐतिहाँसिक मन्दिर रहेको हुँदा मन्दिरको निर्माण पश्चात धार्मिक पर्यटक भित्र्याउन सकिने भन्दै न्यौपानेले मन्दिर निर्माणकोलागि सहयोग गर्न अनुरोध गरेका छन् ।

विहिबार धान्य पुर्णिमाका दिन मन्दिरमा आएका भक्तजनहरुबाट मन्दिर निर्माणकोलागि एक लाख ५२ हजार रुपैयाँ संकलन भएको न्यौपानेले बताए । मन्दिर निर्माण समितिका सचिव डिल बहादुर गुरुङले दिन रात यहि मन्दिरको विषयमा सोच्ने र घरायसी काम छोडी मन्दिर निर्माणमै लागिरहेको कारण आज मन्दिर निर्माण गर्न सकिएको बताए ।
यस्तो छ, भर्जन कालिका माई मन्दिरको इतिहाँस
विगतमा देवघाटमा खानेपानीको अभाव भएपछि त्यस ठाउँका बासिन्दाहरु पानी भर्नको लागि त्रिशुली नदीमा जानु पर्ने बाध्यता रहेको २००६ साल अघि पहाडबाट देघवाटको पिपलटारमा बसाई सरी आएका खड्गजित आलेका नाती पन्चबहादुर आलेले बताए । नदी किनारमा रहेको तातोपानीको कुवामा पानी भर्नुपर्ने बाध्यता रहेको अवस्थामा गाउँका तत्कालिन मुखियाहरु कालिमाटीका रामवरण गुरुङ र पिपलटारका मनबहादुर गुरुङले गाउँमा पानीको मुहान खोज्न निकै चिन्तित भइरहेको अवस्थामा देवघाट गाउँपालिका वडा नम्बर ४ काफलस्वाँरा बस्नुहुने धनबहादुर झिमाल नामको झाँक्री आई देउता बस्ने क्रममा स्वयम कालिका माताले ‘यस ठाउँमा मेरो ठुलो मुर्ती छ, त्यो कोही कसैबाट संरक्षण भएको छैन यदि मलाई कालिका माइको नाममा त्यस मुर्तीको संरक्षण गरि पुजा गरेमा त्यस ठाउँमा पानी निस्कनेछ’ भनेबमोजिम २००६ साल मंसिर ११ गते धान्यपुर्णिमाको दिन उक्त स्थानमा देबीको पुजा सुरुगरेपछि पानी निस्कन थालेको स्थानीय ८४ वर्षिय शुकबहादुर गुरुङ र ८६ वर्षिय धनजित गुरुङले बताए ।

उक्त स्थानमा पानिको मुल निस्किएपछि पिपलटार तथा कालिमाटीका गाउँलेहरुले त्यही मुल कुवाको पानी खाने गर्न थालेको धनजितले बताए । विगतमा गाउँलेहरु भजर्न खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेकोमा दैवी शक्तिले त्यसठाउँमा पानीको मुहान निस्किएपछि त्यसदेवीको नाम नै भर्जन कालिका देवी राखि प्रत्येक वर्ष मंसिर धान्यपुर्णिमाको दिन पन्चवली सहितको विशेष पुजा गर्न थालिएको मन्दिर निर्माण समितिका अध्यक्ष न्यौपानेले बताए । भर्जन कालिका माई मन्दिरमा भाकल तथा दर्शन गर्नाले आफ्नो मनोकांक्षा पुरा हुने स्थानीयहरु बताउँछन् ।
पछि गलेश्वर बाबा भर्जन कालिका माईको दर्शन गर्न आउने क्रममा जरायो खोलामा रहेको भिमसेन भार गुफामा तपस्या गरि प्रत्येक धान्यपुर्णिमाका दिनमा उक्त मन्दिरमा आई बासबसी भजन किर्तन गरि जाने गर्नुभएको स्थानीय जेष्ठ नागरिकहरुले बताए ।

स्थापना कालमा उक्त मन्दिर खुल्ला आकाशमुनी रहेकोमा पछि गाउँका मुखियाहरुको पहलमा गाउँलेहरुले काठको बार र खरले छाइ मन्दिर निर्माण गरेका थिए । वि.स.२०४२ सालमा पिपलटारका मेहरमान श्रेष्ठ र उनका कान्छाछोरा सममान श्रेष्ठको पहलमा खरको छाना हटाइ सालका चिरान काठ फलेकले छाएको मन्दिर निर्माण भएको र पुन १० वर्ष अन्तरालमा उक्त फलेक धमिराले खाइ जिर्ण भएपछि २०५२ सालमा सिर्जना युवा क्लवको पहलमा मन्दिर निर्माण गरिएको थियो । दुई वर्ष अघि मन्दिरको पुन निर्माण गरि कलात्मक शैलीको बनाईएको थियो ।
उक्त कालिका माई मन्दिरका साथमा मालिका माई तथा यही आसपासमा जलदेवी माई, झाँक्री देवता, चण्डीमाई, भएँरथान, बुढो बराजु, भोटे लामाको थान रहेको र निम पुजा गर्दा सँगै गरिने गरिएको छ । साथै औंशी र एकादशी बाहेक अन्य दिन पुजा हुने गरेको छ । साथै पुर्णिमा, पञ्चमी र अष्टमीमा विशेष गरि पुजा गर्ने गरिएको छ । यसै गरि यसै कालिका मन्दिरको नामबाट २०३६ सालमा कालिका मावि र पछि २०६४ सालमा सोही मन्दिरको नामबाटै कालिका प्राविको स्थापना तथा विभिन्न टोल विकासको नामकरण समेत गरिएको छ ।












