पृथ्वीराजमार्गको बस्ती क्षेत्रमा सुरक्षित बस्ती सम्बन्धि अवधारणा लागु गर्न माग

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १९

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा ईन्जिनियर श्रीराम न्यौपानेले पृथ्वीराजमार्गको पोखरादेखि मुग्लिन खण्डको बस्ती क्षेत्रमा सुरक्षित वस्ती अवधारणा लागू गर्दै आवस्यक पूर्वाधार र सुरक्षा व्यवस्था गर्न तथा अलपत्र परेका केहि विकास निर्माणका आयोजना कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री, ऊर्जा तथा जलस्रोत मन्त्री तथा सहरी विकास मन्त्री कुलमान घिसिङ समक्ष माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका संयोजक विश्व बास्तोला र म्याग्दे गाउँपालिकाका संयोजक मनोज अधिकारी सहित इन्जिनियर न्यौपानेले शुक्रबार मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाँउँदै उक्त माग गरेका हुन् । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा देखि तनहुँको आँबुखैरेनी सम्मका कोत्रे, दुलेगौंडा, खैरेनिटार, थर्पु, जामुने, गुणादी, दमौली, कमलबारी, डुम्रे, सत्रसय, आँबुखैरेनी लगायतका राजमार्गका दुबै किनाराका मुख्य बस्ती क्षेत्र दिनप्रतिदिन भीडभाड, यातायातको चापका कारण मुख्यतया वालवालिका, वृद्द र असहायहरु सडक दुर्घटनाको उच्च जोखिममा परेका छन् । यी क्षेत्रमा बसोबास गर्ने सबै नागरिकको जीवन, स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएकोले सुरक्षित बस्ती सम्बन्धि अवधारणा लागु गर्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा घना बस्ती, चोक तथा जोखिमयुक्त स्थानमा आधुनिक स्मार्ट लाइटहरू जडान गर्न, आवश्यकता र औचित्यताको आधारमा पैदलयात्री तथा अपाङमैत्री फ्लाइओभर वा अन्डरपास निर्माण गर्न तथा दुवै साइडमा नाला ढाकी वालवालिका राजमार्गको सडकमा निस्कन नसक्ने गरी रेलिङ राख्न माग गरिएको छ । त्यसैगरि केहि घुम्तीहरु र दुर्घटनाग्रस्त क्षेत्रमा दृश्यता बढाउने, चौडाइ सुधार गर्ने तथा सुरक्षित मोडको पुनः डिजाइन गरी पुनर्निर्माण गर्न पनि माग गरिएको छ ।

त्यसैगरि यात्रुको सुविधा, आपतकालीन सेवा र हरित ऊर्जा प्रवद्र्धनका लागि पायक पर्ने ठाउँमा पर्याप्त पार्किङ स्थल, सार्वजनिक शौचालय, चार्जिङ स्टेशन, चमेना गृह सहितको सुविधायुक्त आधुनिक हाइवे सर्भिस सेन्टरको विकास गर्न स्थानीयले प्राथमिकता पाउने गरी निजी क्षेत्रका लागि खुल्ला गर्ने नीतिगत व्यवस्था गर्न, दुर्घटना पीडितलाई छिटो उपचार उपलब्ध गराउन अत्यावश्यक भएकोले राजमार्ग एम्बुलेन्स र राजमार्ग अस्पताल स्थापना गर्न, सुरक्षा निगरानी, दुर्घटना नियन्त्रण र अपराध रोकथामका लागि राजमार्गलाई समेट्ने गरी सिसिटिभी जडान गर्न तथा सडक मापदण्ड अनुसारका सुरक्षा चिन्ह, रिफ्लेक्टर र ट्राफिक गाइडलाइन व्यवस्थित रूपमा राख्न पनि माग गरिएको छ ।

यस्तै गति सीमा, लेन मार्किङ र लेन अनुशासन कडाइका साथ कार्यान्वयन गर्न, राजमार्ग छेउका बसोबास क्षेत्रलाई सुरक्षित, स्वस्थ र व्यवस्थित बनाउन दीर्घकालीन योजना ल्याइ सार्वजनिक गर्न तथा करिब विगत दश वर्ष देखि अलपत्र परेर बसेका भिमादको स्वास्थ्य चौकी भवन, रिसिङ–घिरिङमा पर्ने राष्ट्रिय राजमार्गहरु श्रृङपथ र कृष्णमार्ग तथा वुद्धसिंह मार्ग र मुग्लिङ–नारायणगढ सडक जोड्ने घुमाउनेको पुल यथासक्य चाँडो निर्माण कार्य अघि बढाउन पनि माग गरिएको छ ।

उक्त मागहरु जनसुरक्षा, दुर्घटना न्यूनीकरण, राजमार्गको स्तर अनुसारको सुविधासम्पन्न यातायात सेवा र समग्रमा द्रुत गतिको सुरक्षित विकासका आधारभूत आवश्यकता भएको भन्दै इन्जिनियर न्यौपानेले मन्त्रालयले प्राथमिकताका साथ आवश्यक बजेट, योजना र कार्यान्वयन प्रक्रिया आगामी वर्षको निति तथा कार्यक्रम मार्फत अघि बढाई राजमार्ग वरपरका स्थानीय बासिन्दाको जीवनस्तर र सुरक्षामा तत्काल सुधार गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू