तमु ल्होसारको अवसरमा मंगलबार बन्दीपुरमा विशाल कौरा नृत्य प्रदर्शन हुने

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १४

बन्दीपुर भ्रमण वर्ष २०२५ को समापन कार्यक्रम तथा ‘तमु ल्होसार’ पर्वको अवसर पारेर पुष १५ गते मंगलबार बन्दीपुरमा विशाल कौरा नृत्य प्रर्दशन हुने भएको छ । यस अवसरमा सबैभन्दा धेरै कलाकारले सहभागी भई प्रस्तुत गर्ने आकर्षक ‘चुट्का (कौरा) नृत्य’ मुख्य आकर्षण रहने जनाईएको छ ।

बन्दीपुरको टुडिखेलमा आयोजना हुने यो कार्यक्रम सांस्कृतिक उत्सवका साथ कौरा नृत्यमा रमाउने एक महत्वपूर्ण अवसरका रूपमा रहने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैंशबहादुर गुरुङले जानकारी दिए । एक हजार भन्दा बढिले यस अवसरमा कौरा नृत्य प्रर्दशन गर्ने गुरुङले जानकारी दिए ।

‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ नाराका साथ तनहुँको सांस्कृतिक पहिचान कौरा नृत्य लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक हरिसिं गुरुङले जानकारी दिए । कार्यक्रमका सह–आयोजक, प्रवद्र्धक, कलाकार, दर्शक तथा सहयोगीहरू सबैको सहभागिता रहने कार्यक्रम खुल्ला रूपमा आयोजना गरिएको छ । नृत्यमा सहभागी हुन इच्छुक सम्पूर्ण जातजातिका व्यक्तिहरू आ–आफ्नै जातीय तथा संस्थागत पोशाकमा उपस्थित हुनुपर्नेछ ।

समूहगत रूपमा सहभागी हुन चाहनेहरूले कम्तिमा २५ जनाको समूह बनाउनु पर्नेछ । यस्ता समूहहरूले कौरा नृत्य प्रतियोगितामा समेत सहभागी हुने अवसर पाउनेछन् । दमौली, आँबुखैरेनी तथा धरमपानी क्षेत्रबाट सहभागी तथा कलाकारका लागि यातायातको विशेष व्यवस्था गरिएको छ । सहभागी कलाकार तथा समूहहरूलाई सम्मान तथा पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

तमु ल्होसारको अवसरमा बन्दीपुरमा प्रर्दशनी गरिने सांस्कृतिक पहिचानको रूपमा रहेको कौरा (चुट्का) नाचलाई विश्वमाझ प्रस्तुत गर्ने जमर्को गरिएको बन्दीपुर भ्रमण वर्षका संयोजक बैंशबहादुर गुरुङले जानकारी दिए ।

नयाँ वर्ष २०२६ को अवसरमा बन्दीपुरमा तिन दिने कार्यक्रम आयोजना गरिएको छ । पौष १५ गतेदेखि १७ गतेसम्म विभिन्न कार्यक्रम गरि तमु ल्होसार र नयाँ वर्षको स्वागत गरिने छ । तीन दिनसम्म चल्ने सांस्कृतिक, पर्यटन र मनोरञ्जनको महासङ्गमको रुपमा पौष १५ गते नेपालमै अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा चुड्का (कौराहा) नृत्य, पौष १६ गते सडक खाना महोत्सव तथा बन्दीपुर भ्रमण वर्ष २०२५ समापन समारोह हुनेछ । यसैगरि पौष १७ गते सांस्कृतिक तथा विविध कार्यक्रमहरू एवं नयाँ वर्ष २०२६ को स्वागत गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू