नेकपाले कसैलाई राखेन, एमालेको सुची सार्वजनिक भएन
तनहुँ । पुस १५



समानुपातिक प्रणाली तर्फको बन्द सुचीमा तनहुँका ५ जना विभिन्न पार्टीबाट समावेश भएका छन् । सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिन जना रहेका छन् । उक्त पार्टीबाट डुम्रेका व्यवसायी मानकाजी श्रेष्ठ, चिकित्सक डा.रुपक घिमिरे (विश्वकर्मा) र किशोर गन्धर्व रहेका छन् । त्यस्तै नेपाली काँग्रेस र राप्रपाबाट एक/एक जना समावेश भएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट कोही पनि समावेश भएका छैनन् भने नेकपा एमालेको पुरै सुचि सार्वजानिक नहुँदा तनहुँबाट को परे भन्ने केही जानकारी भएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा दलित पुरुष क्लस्टरतर्फ डा.रुपक घिमिरे पहिलो नम्बरमा परेका छन् । डा. घिमिरे पेसाले छाला रोग विशेषज्ञ हुन् । उनी काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस र एमडी गरेका चिकित्सक हुन् । हेयर ट्रान्सप्लान्ट (कपाल प्रत्यारोपण) मा विशेषज्ञता हासिल गर्न उनले भारत र कोरियाबाट तालिम लिएका छन् । उनले सात वर्ष काठमाडौं मेडिकल कलेज, सिनामंगलमा सहायक प्राध्यापकका रूपमा काम गरेका थिए । हाल उनी दरबारमार्गमा सञ्चालित आभरण स्किन क्लिनिकका सञ्चालक हुन् । घिमिरे यसअघि नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य समेत हुन् ।
२०११ मा मिस्टर नेपालको उपाधि जितेका घिमिरे त्यतिबेला आयुष्मान घिमिरेका नामले चर्चित थिए । उनी रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौं सम्पर्क मञ्चका संयोजक हुन् । घिमिरे तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा जन्मिएका हुन् । डा. घिमिरेले मेडिकल क्षेत्रमा लामो अनुभवका साथै सामाजिक कार्यमा पनि सक्रिय छन् । उनी ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन् ।

यस्तै डुम्रेका श्रेष्ठ तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हुन् । उनी यस अघि नेपाली काँग्रेससँग आवद्ध थिए । उपनिर्वाचनको क्रममा उनी रास्वपामा प्रवेश गरेका थिए । त्यसैगरि तनहुँको भानु नगरपालिकाका किशोर गन्धर्व हाल जर्मनीमा कार्यरत रहेका छन् । उनी रास्वपाको प्रवाश कमिटिमा कार्यरत छन् । रास्वपाबाट समानुपातिकमा पर्ने तिनै जना उक्त पार्टीका उपसभापती डा.स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ क्षेत्र नम्बर १ का रहेका हुन् ।
यसैगरि समानुपातिकको बन्द सुचीमा नेपाली काँग्रेसबाट इन्दिरा खनाल समावेश भएकी छिन् । भिमाद निवासी खनाल सहिद पत्नि हुन् । उनका श्रीमान कल्याण खनाललाई द्वन्द्वकालमा माओवादीले हत्या गरेको थियो ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले गौमाया श्रेष्ठ समानुपातिकको बन्द सुचीमा समावेश गरेको छ । व्यास नपा–४ निवासी श्रेष्ठ उक्त पार्टीको केन्द्रीय सदस्य हुन् । उनी पनि विगतमा पनि समानुपातिकको उम्मेदवार बनेकी थिइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नकेपा) ले भने तनहुँबाट कसैलाई पनि समानुपातिकको बन्द सुचीमा समावेश गरेको छैन । एमालेले कसलाई सुचीमा राखिएको छ भन्ने खुलेको छैन ।












